Logo

शतीसलाई फापेको राजनीति: बावुलाई लोसपामै छाडेर जनमत आए, महेश र चन्दनलाई पन्छाएर मुख्यमन्त्री खाए



काठमाडौं,२४ जेठ । मधेश प्रदेशको मुख्यमन्त्री बन्दै गरेका शतीसकुमार सिंह गत वर्षको प्रदेश सभा निर्वाचनको मुखैमा जनमतमा आए । यसअघि ०७४ सालमा सप्तरीको तिलाठी कोइलारी गाउँपालिकाको अध्यक्षमा तत्कालीन राजपा (पछि लोसपा) बाट निर्वाचित उनी चुनावको मुखैमा जनमतमा प्रवेश गरेका हुन् ।

जनमतमा आसन्न प्रदेश सभाको टिकट पाउने आशमा प्रवेश गरेका थिए । नभन्दै टिक पाए । सप्तरि २ को (ख) बाट भारी मतले निर्वाचित पनि भए ।

उनी प्रदेश सभामा अर्थ समिति सभापति पनि छन्।

जनमत पार्टीको प्रदेश संसदीय दल नेतामा महेशप्रसाद यादव छन्।

संविधानको धारा १६८ (२) मा प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने प्रावधान रहेकाले सोही व्यवस्थाअनुसार सिंहले नेतृत्व पाउन लागेका हुन्।

जनमतले मधेशको नेतृत्व पाउन लागेपछि महेशसँगै केन्द्रका महामन्त्री रहेका चन्दन सिंहले पनि मुख्यमन्त्रीमा आकांक्षा राखेका थिए । तर, दुवैलाई पन्छाएर उनले मुख्यमन्त्रीमा बाजी मारेका छन् । शतीस जनमतमा भएपनि उनका बावु शेखरकुमार सिंह लोसपामै छन् । उनी हाल लोसपाबाटै राष्ट्रिय सभामा सांसदसमेत छन् । आफ्नै बावुलाई जनमतमा ल्याउन नसकेको आरोप खेप्दै आएका उनी अन्तत आकांक्षीलाई पन्छाउन सफल भएका छन् । उनले आजै पद तथा गोपनीयताको शपथ लिनेछन् ।

बुधवार राति प्रदेश प्रमुख सुमित्रा भण्डारीले बहुमतको सरकार गठनका लागि दलहरूलाई शुक्रबार बिहान १० बजेसम्मको समय दिएर आह्वान गरेकी थिइन् ।

यसअघि मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव बुधबार पदमुक्त भएका थिए । बुधवार प्रदेशसभाबाट विश्वासको मत पाउन असमर्थ भएपछि उनी मदमुक्त भएका हुन् ।

प्रदेशसभामा उपस्थित रहेका कुल १०३ सांसदमध्येबाट यादवको पक्षमा ५० मत आयो भने उनको विपक्षमा ५३ मत परेको छ ।



प्रतिक्रिया दिनुहोस्