Logo

बालेनको पक्षमा एकढिक्का बन्यो कांग्रेस, संसद्मा कसले के भने ?



काठमाडौं,२४ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई आफ्नै हिसावले काम गर्न दिनुपर्छ भन्नेमा र्एकढिक्का देखिएको छ ।

बिहीवार बसेको प्रतिनिधिसभा बैठकको शून्य र विशेष समयमा कांग्रेस सांसदहरुले महानगरको काममा हस्तक्षेप नगर्न केन्द्र सरकारसँग आग्रह गरेका हुन् । विशेष समयमा महामन्त्री विश्वप्रकाश शर्माले न्युरोडमा सडक पेटी विस्तार गर्ने काम सही भएको बताए । उनले काठमाडौंका मेयर बालेन्द्र शाहसँग भिड्न केपी ओलीनै मैदानमा उत्रिनु स्वभनीय नदेखिएको पनि टिप्पणी गरे ।

न्यूरोडमा काठमाडौं महानगरले गरिरहेको काममा संघीय सरकारले हस्तक्षेप गरेको भन्दै उनले आपत्ति जनाए । महामन्त्री शर्माले संघ र स्थानीय तहबीचको द्वन्द्वमा संघीय सरकार नै बढी जिम्मेवार हुनुपर्ने बताए । न्यूरोडमा बालेनले गर्न लगाएको काम जायज रहेको दाबी गर्दै उनले सो काम पुनः गर्न दिइनुपर्ने बताए ।

‘यो प्रकरणमा म यतिमात्रै भन्न चाहन्छु संघ र स्थानीय तहबीचको द्वन्द्वमा बढी संयमित संघ हुनुपर्छ । न्यूरोडमा नागरिकको सुविधाका लागि सडकपेटी बढाउन जरुरी थियो । बालेनले जे गरेका थिए, ठीक गरेका थिए । उनलाई त्यहाँ काम गर्न दिइनुपर्छ । संघले यसमा कुनै पनि प्रकारको हस्तक्षेप गर्ने कुरातर्फ फिर्ता हुनुपर्छ,’– उनले भने ।

आजकै बैठकमा कांग्रेस नेता अर्जुननरसिंह केसीले पनि बालेन र संघ सरकारबीच भद्रगोलको अवस्था देखिएको भन्दै बालेनलाई काम गर्न दिनुपर्ने बताए । उनले भने, ‘काठमाडौं महानगरपालिका र सरकारबीच देखिएको द्वन्द्व र भत्काउने बनाउने गाईजात्राले सरकारमाथि नै गम्भीर प्रश्न उठेको छ । तत्काल समन्वय होस् सरकारी पक्षले अहङ्कार , झगडिया कानून नबोकोस्, यसलाई समन्वय गर्नुपर्ने सरकारको दायित्व छ त्यसलाई पूरा गरोस् ।’

यता कांग्रेसकै अर्का नेतृ कान्तिका सेजुवालेल पनि बालेनलाई काम गर्न रोक्न नहुने बताएकी थिईन् । ‘कि स्थानीय सरकार सञ्चालन ऐनले जुन परिकल्पना गरेको छ । त्यो खारेज गरौं । हैन भने बालेनलाई काम गर्न किन नदिने ’ उनले भनिन् । ‘न्यूरोडदेखि इन्द्रचोक, वसन्तपुर र ठमेलमा किन गाडी गुड्ने सहर चाहियो । किन रिङरोड चाहियो । फुटपाथ बनाउन किन सरकारले अवरोध गरेको’ ।

न्यूरोड क्षेत्रमा महानगरले सडक काटेर फुटपाथ बढाउन खोजेपछि संघीय सरकार मातहत सडक विभाग र सडक डिभिजन काठमाडौंले सडक कालोपत्र गर्दा तनावको स्थिति देखा परेको थियो।



प्रतिक्रिया दिनुहोस्