Logo

नियन्त्रणमा लिइएको लागूऔषध बजारमा रिसाइकिलिङ भएको हुनसक्ने सांसद साहको आशंका



काठमाडौं, २४ जेठ । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य प्रभु साहले सरकारले लागूऔषधको दूर्व्यसनी रोक्न नसकेको भन्दै चिन्ता प्रकट गरेका छन् । आज (बिहीबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले लागूऔषधको दूर्व्यसनीले कलिला बालबालिकाको भविष्यसँग व्यक्ति, घरपरिवार, समाज र राष्ट्रलाई नकारात्मक असर परिरहेको बताएका हुन् । कानुनले प्रतिबन्धित गरेको लागूऔषध खुलेआम रुपमा बेचविखन भइरहेको भन्दै उनले सरकारको ध्यानाकार्षण गराए ।

‘नेपालका लाखौं युवाहरु लागूऔषध दूर्व्यसनको शिकार भएका छन् । भर्खरका कलिला बच्चाहरु लागूऔषधको लतमा अगाडि बढिरहेको हामी हेरिरहेका छौं । हजारौं घर बर्वाद भएको छ । व्यक्ति, घरपरिवार, समाज र राष्ट्रलाई नकारात्मक असर पार्ने यसको नियन्त्रण किन भइरहेको छैन । नेपालको कानुनले प्रतिबन्ध गरेको लागूऔषध बेचबिखन, बिक्री वितरण खुलेआम पाइरहेको स्थिति छ । यो किन भइरहेको हो ? यसमा गृहमन्त्रको जवाफ चाहन्छौं,’– उनले भने ।

साथै, लागूऔषध नियन्त्रणको जिम्मेवारी पाएको प्रहरी प्रशासनको भूमिकामाथि उनले प्रश्न उठाएका छन् । उनले वर्षौंदेखि राज्यको संयन्त्र लागूऔषध नियन्त्रणमा खटिएपनि प्रभावकारिता नदेखिएको बताए । उनले लागूऔषध कहाँबाट र कसले प्रवाह गरिरहेको छ भन्ने कुरा जान्न चाहेको बताए । साथै, समातिएको लागूऔषध पुन बजारमा गएको हुनसक्ने उनको आशंका छ । अध्यक्ष साहले प्रहरीले नियन्त्रणमा लिएको लागूऔषध कहाँ र कस्तो अवस्थामा, कति छ भन्ने कुरा जानकारी गराइनुपर्ने बताए । उनले यदि नष्ट गरिएको हो भने कुन मितिमा, कहाँ नष्ट गरिएको हो ? भन्दै उनले सो को विवरण माग गरे ।

‘यो यसको नियन्त्रणको जिम्मा पाएका छन्, कहीँ न कहीँ तिनीहरु यसमा संलग्न छन् । यत्रो वर्षदेखि राज्यको ठूलो संयन्त्र काम गरिरहेको छ, हामी जान्न चाहन्छौं, लागूऔषधको स्रोत के हो ? कहाँबाट लागूऔषध प्रवाह हुन्छ ? त्यो किन पत्ता लगाउन सकिएको छैन ।’ उनले भने, ‘अहिलेसम्म जतिपनि लागूऔषध समातिए, त्यसको स्टोर कहाँ हुन्छ ? नष्ट हुन्छ कि त्यसको स्टोर हुन्छ ? नष्ट भएको हो भने कति नष्ट भएको हो ? कहिले नष्ट भएको हो ? यदि स्टोर भएको छ भने कहाँ स्टोर भएको छ ? र कति स्टोर छ ? हामी जान्न चाहन्छौं । मान्छेहरुको आशंका छ, लागूऔषध कहीँ रिसाइकिलिङ त भइरहेको छैन । त्यसमा संलग्न व्यक्तिहरुले फेरि माकेर्टमा पठाउने व्यापार त गरिरहेको छैन ? भन्ने गम्भीर आशंका उत्पन्न भइरहेको सन्दर्भमा नेपाली जनतालाई जानकारी गराउन म आग्रह गर्न चाहन्छु ।’

पूर्व प्रहरी अधिकारीहरुले सुधार गृह सञ्चालन गरिरहेको र त्यसको बढ्दोत्तरी रहेको बताउँदै उनले लागूऔषधको मुहान पत्ता लगाउन नसक्नु र रोकथाम प्रभावकारी नहुनु मुलुकका लागि दुर्भाग्य हुने बताए । लागूऔषध नियन्त्रण सम्बन्धि कानुन असाध्यै पुरानो भएको भन्दै उनले यसबाट समाधान ननिस्कने बताए । अध्यक्ष साहले पहिला सहर बजारमा रहेको लागूऔषध दुर्व्यसनीको विकराल अवस्था अहिले गाउँ–गाउँमा पुगेको टिप्पणी गरे ।

‘पूर्व प्रहरी अधिकारीहरु जसले सुधार गृह सञ्चालन गरिरहेका छन्, ठाउँ–ठाउँको सुधार गृहमा बढोत्तरी हुने र त्यसको मुहान पत्ता लगाउन नसक्ने, त्यसको रोकथाम हुन नसक्ने, नियन्त्रण हुन नसक्ने र व्यापार भइराख्ने जो कन्डिसन छ, यो बिढम्बनापूर्ण र दुर्भाग्यपूर्ण छ । यसको रोकथामको लागि म माग गर्न चाहन्छु,’– उनले भने । File Photo/RN



प्रतिक्रिया दिनुहोस्