काठमाडौं,२५ जेठ । मधेश प्रदेशको मुख्यमन्त्रीमा शतिसकुमार सिंह नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् । उनले आजै पद तथा गोपनीयताका शपथ लिनेछन् ।
सिंहलाई जनमतका अतिरिक्त नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी, र संघीय मुक्ति मोर्चाले समर्थन गरेका छन् । उनले आजै ५६ जना सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।
यसअघि मधेस प्रदेशका मुख्यमन्त्री रहेका सरोजकुमार यादवले विश्वासको मत पाउन असफल भएका थिए। मधेस प्रदेशसभाको बुधबारको बैठकमा उनले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावका पक्षमा ५० मत परेको थियो भने विपक्षमा ५३ मत खसेको थियो । सरकार जोगाउन मुख्यमन्त्रीलाई ५४ मत आवश्यक थियो । १०७ सदस्यीय प्रदेशसभामा बुधबारको बैठकमा १ सय ३ सांसद उपस्थित थिए।
मुख्यमन्त्री यादवले डेढ वर्षमा पाँचौँपटक विश्वासको मत लिएका हुन् । मुख्यमन्त्रीलाई उनको दल जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेपाली कांग्रेस, लोसपा र राप्रपाले मत दिए पनि त्यो बहुमतका लागि पर्याप्त थिएन।
विपक्षमा नेकपा एमाले , जनमत पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीले मतदान गरे। विसं २०७९ पुस २३ मा एमाले, जनमत, माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादीलगायत दलको समर्थनमा जसपा संसदीय दलका नेता यादव मुख्यमन्त्री बनेका थिए।
गठबन्धन फेरबदल हुँदा पनि यसअघि मुख्यमन्त्री यादवले चारपटक विश्वासको मत पाएका थिए । तर पाँचौँपटक विश्वास पाएनन्। योसँगै जसपा नेपालले मधेस प्रदेशमा पहिलोपटक सत्ता गुमाएको छ।
जसपा ७८ महिना सत्तामा
प्रादेशिक संरचना लागू भएपश्चात् विसं २०७४ मा भएको पहिलो निर्वाचनपछि लगातार जसपा नेपालले सरकारको नेतृत्व गरेको थियो। पहिलो निर्वाचनपछि तत्कालीन प्रदेश नं २ (हालको मधेस प्रदेश) मा उपेन्द्र यादव नेतृत्वको तत्कालीन सङ्घीय समाजवादी फोरम, नेपाल (हालको जनता समाजवादी पार्टी नेपाल) को सरकार बन्यो।
तत्कालीन प्रदेशसभा संसदीय दलका नेता लालबाबु राउतले सत्ता गठबन्धन र राजनीतिक दलमा जस्तो परिवर्तन आए पनि पूरा कार्यकाल नेतृत्व गरेका थिए।
यसपछि २०७९ मङ्सिर ४ गते दोस्रो निर्वाचनपश्चात पनि जसपा नेपालकै नेतृत्वमा सरकार गठन भयो। मुख्यमन्त्रीका रूपमा जसपा नेपालका नेता सरोजकुमार यादवले नेतृत्व सम्हाले। गठबन्धन र दलमा फेरबदल हुँदा पनि चारपटक उनले विश्वासको मत पाएका थिए। तर यसपटक भने पाएनन्। योसँगै मधेस प्रदेशमा तत्कालका लागि करिब साढे छ वर्ष अर्थात् ७८ महिनापछि जसपा नेपालले मधेस प्रदेशको सत्ता गुमाएको छ।
अब यहाँ पनि अरु प्रदेशमा जस्तै राजनीतिक अस्थिरता सुरु भएको छ। अरु प्रदेशमा केन्द्रीय सत्तासमीकरण फेरबदल भए पनि मधेसमा आफ्नै पार्टी नेतृत्वको सरकारलाई प्राथमिकतामा राख्ने उपेन्द्र यादव अहिले केन्द्रदेखि प्रदेशसम्म सरकारबाहिर हुनुपरेको छ।
जसपा नेपालका सङ्घीय परिषद् अध्यक्ष रहेका अशोक राईले पार्टीका सात सङ्घीय सांसद लिएर जनता समाजवादी पार्टी गठन गरेपछि यादवले केन्द्रदेखि मधेस प्रदेशमा सत्ता गुमाउनुपरेको हो।
०७४ फागुन गतेदेखि ०८१ जेठ २३ गतेसम्म २३०३ दिनसम्म मधेशको सत्तामा एकछत्र राज गरेको जसपा र त्यसकाअध्यक्ष उपेन्द्र यादवले यसपटक भने पार्टी विभाजनको चोट र सत्ताबाट बर्हिगमन एकैपटक भोग्नुपरेको छ । संघीय संसद्अन्तर्गतको प्रतिनिधि सभामा १२ सीटसहित छैटौं ठूलो दलको रुपमा स्थापित जसपा गत महिनामात्रै फुटेपछि उपेन्द्रको पार्टी नवौं दलको झरेको छ । पार्टी विभाजनपछि केन्द्रको सरकारबाट बढारिएका उनी अन्तत प्रदेश सरकारमा पनि बढारिएका छन् भने साढे ६ वर्ष लामो मधेशको एकछत्र राजको अन्त्य भएको छ ।