काठमाडौं,२५ जेठ । मधेश प्रदेशका सत्ता गठबन्धनमा आवद्ध दलहरुबीच मन्त्रालय भागबन्डामा कुरा मिलेको छ । हिजो बिहानदेखि अबेरसम्म बसेको सत्ता गठबन्धनको बैठकले मन्त्रालयमा कुरा मिलाएको हो ।
हिजो मिलेको भागबन्डा अनुसार माओवादीले अर्थ र उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालय पाएको छ। त्यस्तै एकीकृत समाजवादीले भूमी व्यवस्था कृषि तथा सहकारी र उर्जा सिँचाई तथा खानेपानी मन्त्रालाय पाएको हो।
त्यस्तै एमालेले भौतिक पुर्वाधार, स्वास्थ्य तथा जनसंख्या, शिक्षा तथा संस्कृति र खेलकुद तथा समाज कल्याण गरी चारवटा मन्त्रालय पाएको छ।
जनमत पार्टीले तत्काल वन तथा वातावरण मन्त्रालय मात्रै पाएको छ। उसले थप एउटा मन्त्रालय पछि पाउने सहमति छ। प्रदेश सभामा एकरएक सिट रहेका नागरिक उन्मुक्ति र नेपाल समाजवादी पार्टीले क्रमशः श्रम तथा यातायात र गृह र संचार तथा कानुन मन्त्रालय लिने सहमति ६ दलबीच भएको छ।
मधेस प्रदेशमा अहिले ११ वटा मन्त्रालय छ।
आज बिहान ११ बजे नै मधेस भवनस्थित कभर्ड हलमा मुख्यमन्त्री र मन्त्रीहरुको शपथग्रहण हुनेछ।
केहिबेर अगाडी मात्रै नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीले ५५ सांसदको हस्ताक्षरसहित जनमतका सिंहलाई मुख्यमत्री नियुक्त गर्न दावी पेश गरेको थियो ।
सरकार बनाउन लागेका दलहरुबीच मन्त्रालय बाँडफाँटको टुंगो लागिसकेको छ । दलहरुले मन्त्रीको टुंगो पनि लगाइसकेको र नियुक्तिका लागि प्रदेश प्रमुख कार्यालय पठाउन लागेको छ ।