काठमाडौं, २५ जेठ । जनता समाजवादी पार्टी नेपालका प्रवक्ता मनिष सुमनले नेपालले कुनै पनि छिमेकी मुलुकको विरुद्धमा हुने गतिविधि गर्न नहुने बताएका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले छिमेकी मुलुकको सम्बन्धमा आँच आउने कुनै पनि गतिविधि गर्न नहुने बताएका हुन् ।
साथै, नेपालले बिआरआईको ऋण लिन नहुने उनको भनाइ छ । बिआरआईको थोरै ब्याजदर भएको ऋण पनि भोलि नेपालका लागि घाँडो हुने उनको भनाइ छ । उनले बिआरआईको ऋण नेपालले थेग्न नसक्ने र अहिलेको आवश्यत्ताको विषय पनि नरहेको बताए ।
‘नेपालले आफ्ना छिमेकी मुलुकको विरुद्ध हुने कुनै पनि गतिविधि गर्दैन । भारत हाम्रो अटुट मित्र हो । हामीले भारतको मित्रतामा आँच आउने गरी अन्य कुनै पनि मुलुकसँग दीर्घकालीन सम्झौता गर्न हुन्न । जहाँसम्म बिआरआईको कुरा छ । बिआरआईका बारेमा नेपाली जनतालाई भएको जानकारी यो एक प्रकारको ऋण हो । यो ऋण हामी थेग्न सक्दैनौं । अनुदान हो भने ठीकै छ, ऋण हो भने सानो व्याजदर राखेर लिएको ऋण पनि भोलि घाँडो हुनसक्छ । हामीलाई आवश्यत्ता नरहेको विषय हो,’– उनले भने ।
बिआरआईको ऋण लिने विषयमा नेपाली जनताका माझ र संसद्मा व्यापक छलफल हुन जरुरी रहेको उनले बताए । File Photo/RN