काठमाडौं,२५ जेठ । कान्तिपुर मिडियाका निर्देशक सम्भव सिरोहियाले गृहमन्त्री रवि लामिछानेको सहकारी प्रकरणमा सेटिङ नगर्दा कैलाश सिरोहिया पक्राउ गरिएको दाबी गरेका छन् ।
शुक्रबार सामाजिक सञ्जालमार्फत उनले भिडियो सार्वजनिक गर्दै आफ्नो बुबा समेत रहेका कान्तिपुरका अध्यक्ष कैलाशलाई नागरिकताको विषयमा झुटो मुद्दामा पक्राउ गरिएको आरोप लगाएका हुन् ।
“यसपालि रास्वपाका सभापति गृहमन्त्री रवि लामिछानेको को-अपरेटिप स्क्याम जनताको बीचमा ल्याउने क्रममा उहाँले धेरै अनुरोध गर्नुभयो । यो समाचार मिलाइदिनका लागि, लुकाइदिनका लागि । उहाँले पहिले आफूले गर्नु भएको पत्रकारिताजस्तो सोच्नुभयो भन्ने लाग्यो मलाई । सेटिङ गरेर समाचार बन्छ वा लुक्छ सोच्नुभयो । उहाँलाई कति अनुरोध गरियो कि म्यानेजमेन्टले न्युज लेख्दैन,” सम्भवले भिडियोमा भनेका छन्, “व्यवस्थापनले समाचार लेख्दैन, सम्पादकीय स्वतन्त्रता छ । उहाँले त्यो बुझ्नु भएन । गृहमन्त्रीको अनुरोधमा कान्तिपुरले सेटिङ नगरेको भएर उहाँ फेरि तल्लोस्तरमा ओर्लनुभयो । आफ्नो शक्ति दुरूपयोग गर्दै झुटो केस लगाएर कान्तिपुरका अध्यक्ष मेरो बुबा कैलाश सिरोहियालाई पक्राउ गर्नुभयो ।”
उनले दलका नेताको भ्रष्टाचार कान्तिपुरले लुकाउन नसक्ने बताएका छन् । आफ्नो बुबा नेपाली नागरिक भएकाले जिल्ला प्रशासनबाट नागरिकता लिएको उनले बताए ।
“भ्रम के फैलाइयो भने उहाँको दाइहरूको नागरिकताको क्याटागोरी फरक छ । उहाँको फरक छ । गृह मन्त्रालयको नियम त गृहमन्त्रीले बुझ्नैपर्ने हो । दाइहरू जन्मिँदा नेपाली नागरिकता प्राप्त गर्नुभएको थिएन । तर, नौजनामध्येको कान्छा छोरा कैलाश सिरोहिया जन्मिँदा प्राप्त गरिसक्नुभएको थियो । यति सरल कुरालाई के–के न जस्तो हल्लाबाजी गरियो,” उनले भनेका छन् ।
उनले सिडियोसँग भएको नागरिकताको नम्बर मिलेको डकुमेन्ट राष्ट्रिय स्वतन्त्र पार्टीका नेताको हातमा कसरी पुग्यो भनि प्रश्न पनि गरेका छन् । उनले प्रहरीले अनुुसन्धान नै नगरी झुटो मुद्दा कसरी फाइल भयो भनि प्रश्न गरेका छन् । उनले डकुमेन्ट नमागी पक्राउ पुर्जी जारी भएकोमा पनि प्रश्न उठाएका छन् ।
कान्तिपुरका मालिक कैलाश सिरोहिया नागरिकता कीर्ते प्रकरणमा पक्राउ परेका थिए । उनी ९ दिन हिरासतमा बसेर हाजिरी जमानीमा रिहा भएका छन् ।