Logo

सरकारले भन्यो: सत्ता समीकरण फेरबदल हुँदा राजदूत फिर्ता गर्ने चलन पुरानै हो



काठमाडौं,२५ जेठ । सरकारले सत्ता समीकरण फेरबदल हुँदा राजदूत फिर्का गर्ने चलन नै बसेको प्रष्टीकरण दिएको छ । सरकारी प्रवक्तासमेत रहेकी सञ्चार सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सो प्रष्टीकरण दिएकी हुन् ।

‘विगतमा पनि कतिपय समीकरण फेरिदा प्रचलनकै रूपमा राजदूतहरू फिर्ता बोलाउने कुरा स्थापित भयो’, उनले भनिन्, ‘यो ठिकबेठिक के हो भनेर समीक्षाको विषय हुनसक्छ । तर प्रचलनकै रूपमा स्थापित भएको विषय हो यो ।’

सरकारले भारतका लागि नेपाली राजदूत डा। शंकर शर्मासहित ११ जना राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको पालमा नियुक्त भएका नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र नेपाल समाजवादी पार्टीको कोटाबाट नियुक्त भएका ११ जना राजदूत फिर्ता बोलाएको हो ।

सरकारले भारतका डा। शर्मा, अमेरिकाका लागि राजदूत श्रीधर खत्री, बेलायतका ज्ञानचन्द्र आचार्य, स्पेनकी शर्मिला पराजुली ढकाल, दक्षिण कोरियामा ज्योति प्याकुरेल, मलेसियाका डिल्लीराज पौडेल, डेनमार्कका प्राडा रामसुरज यादव, साउदी अरेबियामा नवराज सुवेदी र इजरायलमा कान्ता रिजाल, कतारका नरेश विक्रम ढकाल र पोर्चुगलका शनिल नेपाललाई फिर्ता बोलाउने निर्णय गरेको छ ।



प्रतिक्रिया दिनुहोस्