काठमाडौं, २५ जेठ । भारत सरकारको कूल २.७५१ करोड आर्थिक सहयोगमा निर्मित नवलपरासी (पूर्व) को बुलिङटार गाउँपालिकास्थित श्री त्रिभुवन माध्यमिक विद्यालयको भवन उद्घाटन भएको छ । आज (शुक्रबार) प्रतिनिधि सभाका सांसद डा.शशांक कोइराला, जिल्ला समन्वय समिति, नवलपरासी (पश्चिम) का प्रमुख भगौती यादव, बुलिङटार गाउँपालिकाका अध्यक्ष दिपेन्द्र सुनारी र काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव डा.साहिल कुमारले नवनिर्मित विद्यालयको भवन संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षकरशिक्षिका, अभिभावक तथा विद्यार्थीहरुको पनि उपस्थिति रहेको थियो । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोग श्री त्रिभुवन माध्यमिक विद्यालयलाई आवश्यक पर्ने अन्य सुविधासँगै कक्षाकोठा, परीक्षा, प्रधानाध्यापक, कर्मचारी र प्रशासनका लागि कोठा, जीवविज्ञान, वनस्पति विज्ञान, भौतिक विज्ञान र रसायन विज्ञानका लागि आवश्यक प्रयोगशाला, पुस्तकालय, कम्प्युटर, छात्र र छात्राका लागि छुट्टै शौचालयसहितको विद्यालय भवनको निर्माणमा उपयोग गरिएको थियो ।
भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको थियो । यस परियोजनाको कार्यान्वयन जिल्ला समन्वय समिति, नवलपरासी (पश्चिम) मार्फत गरिएको थियो ।
कार्यक्रममा बोल्दै सांसद कोइराला, जिल्ला समन्वय समिति, नवलपरासीका प्रमुख, बुलिङटार गाउँपालिकाका अध्यक्ष, राजनीतिक प्रतिनिधि र विद्यालय व्यवस्थापन समितिका अध्यक्षले प्राथमिकताका क्षेत्रमा भारत सरकारले पुऱ्याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरे ।
साथै, श्री त्रिभुवन माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालयको नयाँ भवन उपयोगी हुनुका साथै यसले सिकाइका लागि राम्रो वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ । शिक्षाको विकासमा उक्त परियोजनाले योगदान पुऱ्याउने विश्वास लिइएको छ ।
सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा ५५१ वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ । ४९० वटा परियोजना सम्पन्न गरिसकेको छ । यी मध्ये नवलपरासी (पूर्व) जिल्लाका ३ वटा परियोजनासहित गण्डकी प्रदेशमा ५९ वटा परियोजना रहेका छन् ।
यसका साथै भारत सरकारले नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिसकेको छ । त्यसमध्ये नवलपरासी (पूर्व) जिल्लालाई प्रदान गरिएको ९ वटा एम्बुलेन्स र १० वटा स्कुल बससहित गण्डकी प्रदेशलाई ११९ वटा एम्बुलेन्स र ४० वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिएको छ ।
छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ । यस परियोजनाको कार्यान्वयनले नेपाली जनताको समुन्नतिका लागि र प्राथमिकताका क्षेत्र विशेष गरी नेपालको शैक्षिक क्षेत्रमा पूर्वाधारको विस्तारका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको कुरालाई प्रतिबिम्बित गरेको छ ।