काठमाडौं, २५ जेठ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टीभित्रका समस्या समाधान गर्दै आगामी चुनावमा कांग्रेसले बहुमत ल्याउने गरी तयारीमा लागेको बताएका छन् । आज वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा निधिले पार्टीभित्रको वितृष्णा अन्त्य गर्दै असन्तुष्टि र असहमतिलाई सहज बनाउन देशभर छलफल र भेटघाट अघि बढाएको जानकारी दिए ।
पार्टीभित्र गुटबन्दीको व्यवस्थापन विचारका आधारमा समाधान गर्नुपर्ने उनको धारणा थियो । निधिले अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुको कारण राष्ट्रिय राजनीतिमा समस्या आइरहेको बताए । यसअघि चुनावमा माओवादीसँग गठबन्धन गरे पनि त्यो टिक्न नसकेको उनको भनाइ थियो ।
पहिलो चरणमा प्रचण्ड, त्यसपछि माधव नेपाल र अन्तिममा शेरबहादुर देउवा प्रधानमन्त्री हुने सहमति भए पनि प्रधानमन्त्री दाहाल त्यसमा टिक्न नसक्दा गठबन्धन टुटेको उनले बताए ।