Logo

प्रधानमन्त्री प्रचण्ड भोलि भारत जाँदै, मोदीसँग भेटवार्ता हुने



काठमाडौँ, २६ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रिपूर्ण निमन्त्रणामा भोलि आइतबार भारतको औपचारिक भ्रमणमा जानेभएका छन् । भारतीय प्रधानमन्त्री मोदीको आइतबार नै नयाँदिल्लीमा हुने शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ जान लागेका हुन् ।

भारतीय समकक्षी मोदीको शपथ पश्चात आइतबार नै प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता हुने बताइएको छ । नयाँदिल्लीस्थित नेपाली दूतावासका एक अधिकारीले भारतीय प्रधानमन्त्री र नेपालका प्रधानमन्त्रीबीचको भेटवार्ताको समय फिक्स भइसकेको बताए । उनले भने, ‘प्रधानमन्त्रीद्वयबीच सङ्क्षिप्त भेटवार्ता हुनेछ ।’

प्रधानमन्त्री दाहालका साथ उनकी छोरी गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्ती पदम गिरी तथा उच्चपदस्थ सरकारी कर्मचारी रहने बताइएको छ । प्रधानमन्त्री नेतृत्वको उक्त टोली जेठ २८ गते स्वदेश फर्कने कार्यक्रम छ ।

मन्त्रिपरिषद्को बिहीबारको बैठकले प्रधानमन्त्री मोदीको शपथग्रहणमा प्रधानमन्त्री सहभागी हुने निर्णय गरेको थियो ।

यसअघि सन् २०१४ मा प्रधानमन्त्री मोदीको सपथ ग्रहण समारोहमा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला सहभागी भएका थिए । त्यसबेला पाकिस्तानबाहेक दक्षिण एसियाली मुलुकका राष्ट्राध्यक्ष एवं सरकार प्रमुख समारोहमा सहभागी थिए ।

गत बुधबार प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी मोदीबीच टेलिफोन वार्ता भएको थियो । त्यस अवसरमा उनीहरूबीच आपसी हित र साझा चासोका विविध विषयमा विचार विमर्श भएको थियो । प्रधानमन्त्री दाहालले नेपाल र भारतबीचको सम्बन्धलाई अझ प्रगाढ तुल्याउन अब गठन हुने सरकारसँग साझेदारी एवं सहकार्य गर्न आफू तत्पर रहेको बताएका थिए ।

प्रत्युत्तरमा भारतका प्रधानमन्त्री मोदीले भारत र नेपालबीचको गहिरो र बहुआयामिक साझेदारीलाई सुदृढ गर्ने साझा प्रतिबद्धतामाथि जोड दिँदै सम्बन्धमा सकारात्मक गति कायम राख्ने प्रतिवद्धता व्यक्त गरेका थिए । File Photo/RN



प्रतिक्रिया दिनुहोस्