Logo

केन्द्रीय सत्ता समीकरणलाई कायम राखेर जानुपर्ने बाध्यता छः माधव नेपाल



काठमाडौं, २६ जेठ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले मधेशमा आफ्नो दललाई मुख्यमन्त्रीको प्रस्ताव आउँदा पनि अस्वीकार गरको बताएका छन् ।

आज (शनिबार) पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा कोशी प्रदेश कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस, जनता समाजवादी पार्टीलगायतका दलले मधेशमा मुख्यमन्त्री दिने प्रस्ताव गरेपनि संघ र प्रदेशमा एउटै गठबन्धनमा रहनु उचित देखेर अस्वीकार गरिएको बताएका हुन् ।

‘मधेश प्रदेशमा मुख्यमन्त्रीको प्रस्ताव आयो । यही पुरानै गठबन्धनमा बस्नुुस्, मुख्यमन्त्री लिनुस् । हिजो आइदिएको भए कति राम्रो हुन्थ्यो । बिहान पनि त्यही फोन, बेलुका पनि त्यही फोन आउँछ,’– उनले भने ।

मधेशमा जनमत पार्टीको नेतृत्वमा हिजो सरकार गठन भइसकेको छ । कांग्रेस, जसपा नेपाल र लोकतान्त्रिक समाजवादीले एकीकृत समाजवादीको समर्थन लिएर मधेशमा सरकार बनाउने प्रयास गरेपनि अध्यक्ष नेपालले निर्णय नगर्दा संघीय सरकारमा सत्ता समीकरणमा रहेका दलहरुले नै सरकार बनाएका थिए ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले एकीकृत समाजवादीका अध्यक्ष नेपाल आफ्नो पार्टीको बारेमा स्वतन्त्रण निर्णय गर्नसक्ने अवस्थामा नरहेको बताएका थिए । अध्यक्ष नेपाललाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले दल विभाजन गराइदिने त्रासमा राखेको अध्यक्ष यादवको दाबी थियो ।

यो पनि पढ्नुहोस्ः उपेन्द्रलाई माधवको जवाफः प्रचण्ड-ओलीले पार्टी फुटाइदिने भए, यतै समर्थन गर्नुपर्ने भयो (भिडिओसहित)

उपेन्द्रको दाबी पुष्टि हुनेगरी अध्यक्ष नेपालले केन्द्रीय सत्ता समीकरणलाई कायम राखेर जानुपर्ने बाध्यता रहेको बताए । ‘परिस्थितिअनुसार हामीले केन्द्रीय गठबन्धनलाई कायम राखेर जानुपर्ने अवस्था छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्