काठमाडौं,२७ जेठ । शनिबारदेखि सुरु भएको नेकपा एमाले काठमाडौं जिल्ला अधिवेशन अन्तर्गत आज बन्दसत्र सुरु हुँदैछ । अध्यक्ष दीपक निरौलाले आज राजनीतिक प्रतिवेदन पेश गर्ने भएका छन् ।
एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार उद्घाटन गरेको अधिवेशन भोलिसम्म चल्नेछ । यसैबीच एमाले काठमाडौंको अध्यक्षमा निवर्तमान अध्यक्ष दीपक निरौला र महानगरका पूर्व अध्यक्ष निर्मल देउलाबीच प्रतिस्पर्धा हुने भएको छ ।
देउलालाई कृष्णगोपाल श्रेष्ठ,विद्या सुन्दर शाक्य,सुरेन्द्र मानन्धर,अजय क्रान्ति शाक्य,रामेश्वर फुयाल लगायतका नेताहरुको साथ छ । निरौलालाई नारायण सिलवाल,कृष्ण राई,सरिता न्यौपानेलगायतको साथ छ ।
यता निरौला र देउलाबीचको प्रतिस्पर्धा रोकेर माथिल्लो तहबाटै नेतृत्वमा सर्वसम्मत गराउने लबिङ पनि भइरहेको छ । काठमाडौं महानगरपालिकाका पूर्व मेयर विद्यासुन्दर शाक्यलाई सर्वसम्मतरुपमा अध्यक्ष बनाउन केही नेताले पहल थालेका छन् ।
निरौला प्यानलबाट अध्यक्षमा विश्वराम सापकोटा र सचिवमा राजेश शाक्यको नाम चर्चामा छ । देउला समूहबाट उपाध्यक्षमा काठमाडौं महानगरपालिकाका ३२ नम्बर वडाध्यक्ष नवराज पराजुलीलाई अघि सार्ने तयारी गरिएको छ। सचिवमा सत्यनारायण डंगोल र खुला उपसचिवमा गुञ्जमान सिंह बस्ने उम्मेदवार बन्ने तयारी गरेका छन्।
महिला उपसचिवमा दुवै समूहले काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनीता डंगोललाई रुचि देखाएका छन्। उनी सर्वसम्मत उपसचिव बन्ने सम्भावना छ ।