Logo

निश्चित एजेण्डामा केन्द्रीत भएर कांग्रेस सरकारमा जानसक्छः श्याम घिमिरे



काठमाडौं, २७ जेठ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य श्याम घिमिरेले आफूहरु सरकार बनाउनकै लागि सरकारमा जान नहुने बताएका छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले निश्चित एजेण्डा लिएर सरकारमा जान सकिने स्वभविक भएपनि सरकार बनाउनकै लागि भने सरकारमा जान नहुने बताएका हुन् । उनले निर्वाचन प्रणाली, संविधान संशोधन र संघीयताजस्ता विषयमा परिवर्तन ल्याउन कांग्रेस सरकारमा जान आवश्यक रहेको बताएका हुन् ।

‘कांग्रेस सरकारमा जाने के–का लागि ? मन्त्री हुनका लागि हो या कुनै राजनीतिक परिवर्तन, सामाजिक परिवर्तनका लागि हो ? अहिले सरकार नै बनाउने हो भने केही निश्चित एजेण्डामा केन्द्रीत भएर परिवर्तन गर्न सकिन्छ भने सरकार बनाउनलाई उपयुक्त हुन्छ । केही पनि गर्न नसक्ने हो भने यो सरकार बनाउनका लागि बनाउने भन्ने कुरामा मेरो सहमति छैन । केही निश्चित एजेण्डाहरुमा राष्ट्रिय राजनीतिमा परिवर्तन ल्याउन सकिन्छ भने हामी सरकारमा जानसक्छौं । संविधान संशोधनको इश्यूमा हामी जानैपर्ने हुन्छ ।’ उनले भने, ‘निर्वाचन प्रणाली, संघीयता जस्ता विषयहरु अब यस्तो भइसक्यो कि नेपालमा धान्नै नसक्ने अवस्था भयो । यो विववषयमा संविधान संशोधनको बाटोमा जान सक्ने हो भने, केही आर्थिक मुद्दाहरु छन्, केही आर्थिक विषयहरु छन्, ती विषयहरुलाई संशोधनको बाटोमा जानसक्ने हो भने, पुनर्संरचना गर्नै पर्नेछ । त्यसका लागि सहमति जुटाउनै पर्ने छ । त्यसका लागि सरकारमा जाने हो भने ठीक छ । होईन भने मन्त्री हुने, प्रधानमन्त्री हुने, सरकार बनाउनका लागि बनाउने कुराले केही अर्थ राख्छजस्तो मलाई लाग्दैन ।’

साथै, अर्थमन्त्री वर्षमान पुनले खुल्ला अर्थतन्त्रको बारेमा कांग्रेसभन्दा पनि बढी सकारात्मक भएर कुरा गरिरहेको भन्दै उनले खुसी व्यक्त गरे । पुँजीवादी अर्थव्यवस्थालाई समाप्त पार्छु भनेर जंगल पसेका माओवादीहरु अहिले कांग्रेसले अपनाएको मार्गमा आएको उनको टिप्पणी छ । ‘मलाई सबैभन्दा बढी खुसी के कुरामा लाग्छ भने, अहिले वर्षमान पुनले, उहाँको बजेटको विषयमा कमेन्ट गर्दिनँ म, तर कुरा के हो भने उहाँले अहिले खुल्ला अर्थतन्त्रको बारेमा कांग्रेसभन्दा पनि बढी सकारात्मक भएर कुरा गर्नुहुन्छ । यो खुसीको कुरा हो । हिजो पुँजीवादी अर्थ व्यवस्थालाई समाप्त पार्छु भनेर उहाँ जंगल पसेको होईन ? अहिले कम्तिमा त्यो मार्गमा त आउनुभयो,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्