Logo

सहकारी ठगी प्रकरणमा दुधको दुध पानीको पानी छुट्याउने कुरामा समिति चुक्दैनः माओवादी नेता दाहाल



काठमाडौं, २७ जेठ । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य लेखनाथ दाहालले सहकारी ठगीमा संलग्नता रहेकाहरु कोही पनि नउम्किने बताएका छन् । सहकारी ठगी प्रकरण छानविनका लागि गठित संसदीय विशेष समितिमा सदस्यसमेत रहेका दाहालले आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै संसदीय विशेष समिति सहकारी ठगहरुलाई कारबाहीको सिफारिस गर्न, पीडित बचतकर्तालाई न्याय निरुपण गर्न र सहकारी ठगहरुको सम्पत्ति जफत गर्न सिफारिस गर्न सक्षम रहेको बताएका हुन् । समितिले निर्वाह गर्नुपर्ने भूमिकामा कुनै कमी नआउने पनि उनले विश्वास दिलाए । नेता दाहालले कार्यादेश र विद्यामान कानुनको आधारमा भूमिका निर्वाह गर्न समिति सक्षम रहेको बताए ।

‘सहकारी ठगहरु को–को छन् ? सहकारी ठगीमा संलग्नता छ भने तिनीहरुलाई कारबाहीको सिफारिस गर्ने, सहकारी पीडितलाई न्याय निरुपण गर्ने, सहकारी ठगहरुको सम्पत्ति जफत गरेर बचतकर्ताको बचत फिर्ता गर्ने भन्नेसम्म सिफारिस गर्न यो समितिको सक्षम हुन्छ । समितिको तर्फबाट निर्वाह गर्नुपर्ने भूमिका दुधको दुध पानीको पानी छुट्याउने कुरामा समिति चुक्दैन । समितिले कहीँ पनि सम्झौता पनि गर्दैन । कार्यादेश र विद्यामान कानुनको मातहतमा बसेर निर्वाह गर्नुपर्ने भूमिकामा कुनै कमी आउँदैन,’– उनले भने ।

नेता दाहालले सहकारी ठगको जरा खोज्दै जाँदा उक्त जरा रवि लामिछानेसम्म पुग्यो भने उनलाई पनि तान्ने बताए । आफूहरुले बोलेर भन्दा पनि प्रमाण र तथ्यले बोलेको आधारमा कार्यसम्पादन हुने उनले बताए । ‘अहिले हामीले मुखले बोलेर भएन । हामीसँग सम्बन्धित सहकारी संस्थाहरुको प्रमाण जुटाउँदै जाने क्रममा त्यो ठगी प्रकरणमा रवि लामिछानेको संलग्नता देखियो भने बोलाउने, बयान लिने, कारबाहीको लागि सिफारिस गर्ने अधिकार हामीलाई कार्यदेशले दिएको छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्