काठमाडौं, २८ जेठ । छिमेकी मुलुक भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्तामा नेपाल–भारतबीचको जल्दाबल्दा विषयमा संवाद भएको बताएका छन् । आज (सोमबार) नयाँ दिल्लीमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले भारतीय प्रधानमन्त्री मोदीसँग नेपाल–भारत सम्बन्ध र जल्दाबल्दा विषयमा संवादसँगै अन्य देशका प्रधानमन्त्री र राष्ट्रपतिहरुसँगको सम्बन्ध सजीव बनाउने अवसर मिलेको बताएका हुन् । उनले भारतका प्रधानमन्त्रीको शपथ ग्रहणमा आउने परम्परा सन् २०१४ मा सुशिल कोइराला प्रधानमन्त्री हुँदादेखि नै सुरु भएको बताउँदै उनले अहिले पनि निमन्त्रणा आएपछि आफूहरु आएको बताए । भारतीय प्रधानमन्त्री मोदीको शपथ ग्रहणका क्रममा श्रीलङ्काका राष्ट्रपति र भुटानका प्रधानमन्त्रीसँग पनि भेटवार्ता भएको उनले बताए ।
‘भारतमा प्रधानमन्त्रीको शपथ ग्रहणमा नेपालका प्रधानमन्त्रीलगायतको टिम आउने प्रचलन २०१४ देखि नै हुँदैआएको छ । पहिलो पटक नेपाली कांग्रेसका सभपति सुशिल कोइराला प्रधानमन्त्री हुँदा आउनुभयो । दोस्रो पटक नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा आउनुभएको रहेछ । अहिले पनि मोदीजीको निम्तो गइसकेपछि स्वभाविक रुपले हामी आउनुपथ्र्यो, आयौं ।’ उनले भने, ‘तर, शपथ ग्रहण त एउटा प्रक्रिया भयो । त्योसँगै दुई पक्षीको कुराकानी गर्ने एउटा प्लेटफर्मजस्तो पनि हुँदोरहेछ । हिजो राति बेलुका झण्डा साढे ११, १२ बजेसम्म बस्दा जति इभेन्टहरु भए, त्यसले के देखियो भने एकतिर स्वयं भारत सरकार र प्रधानमन्त्री मोदीसँग नेपाल–भारतका कतिपय जल्दाबल्दा ईष्यूका बारेमा छलफल गर्ने र धारणा बनाउने अवसर पनि भयो । यसको साथसाथै सात देशका प्रधानमन्त्री र राष्ट्रपति आएका हुनाले उहाँहरुसँग फेरि छलफल गर्ने, त्यहाँ बस्दै जाँदा उहाँहरु सँगको सम्बन्धलाई फेरि सजीव बनाउने अवसरको रुपमा पनि मैले महशुस गरेँ । त्यो खाली मोदीजी सँगमात्रै होईन, श्रीलङ्काका राष्ट्रपतिसँग, भुटानका प्रधानमन्त्रीसँग अथवा अरुसँग पनि प्रसंगवस कुराकानी हुँदैगयो । राम्रो भयो ।’
साथै, नेपाल–भारतबीचको सम्बन्ध र समस्याका बारेमा भारतीय प्रधानमन्त्री मोदीसँग वान टू वान वार्ता गरेको पनि प्रधानमन्त्री प्रचण्डले जानकारी गराए । प्रधानमन्त्री प्रचण्डको भनाइ अनुसार नेपाल–भारतबीच भएका सम्झौता कार्यान्वयनलाई तीब्रता दिनुपर्छ भन्ने कुरामा भारतीय प्रधानमन्त्री मोदी सकारात्मक छन् । नेपाल–भारतबीचको सीमा समाधानका विषयलाई टुङ्गोमा पुर्याउन सोसँग सम्बन्धित मेकानिजमलाई सक्रिय गराउने विषयमा समझदारी बनेको प्रधानमन्त्री प्रचण्डले बताए । प्रधानमन्त्री प्रचण्डले सीमा विवाद वार्ता र संवादमार्फत समाधान गर्नुपर्ने विषयमा दुवै पक्ष सहमत रहेको पनि बताए ।
‘मोदीजीसँग साइडलाइनमा मेरो वान टू वान कुराकानी ह्ँदा मुख्यतः हामीले मेरो अघिल्लो भ्रमणका बेलामा भएका सहमति समझदारीहरुलाई कार्यन्वयनमा तीब्रता दिनुपर्यो भन्ने कुरा भयो । कार्यान्वयनलाई तीब्रता दिने हो भन्ने कुरामा कसैको पनि विमति रहेन । दोस्रो चाहीँ मैले नेपाल भारतसँग सम्बन्धित जतिपनि मेकानिजमहरु छन्, ती मेकानिजमहरुलाई सबैलाई सक्रिय गर्नुपर्यो । बोर्डसँग सम्बन्धितदेखि लिएर, ट्रेड ट्रान्जिटसँग सम्बन्धितदेखि लिएर अरु सबै विषयमा भएका मेकानिजम मार्फत वार्ता र संवादको प्रक्रियालाई तीब्रता दिनपर्यो । वार्ता र संवादबाट नै जटिलभन्दा जटिल समस्या पनि हल हुँदैजान्छन् भन्ने कुरा गर्दा उहाँ निकै उत्साहित पनि हुनुभयो । गर्ने हो भन्ने खालकै भयो,’– उनले भने ।
साथै, मोदी–प्रचण्डबीच पञ्चेश्वर र इनर्जीको सेक्टरसँग सम्बन्धित विषयमा पनि छलफल भएको थियो । पञ्चेश्वर गत सालको भ्रमणमा सैद्धान्तिक समझदारी बनेको स्मरण गराउँदै प्रधानमन्त्री प्रचण्डले यसलाई अगाडि बढाउने विषयमा अहिलेको भेटमा छलफल भएको बताए । उनले तत्कालीन भारतीय परराष्ट्रमन्त्री जयशंकर नेपाल आउँदा पनि पञ्चेश्व टुङ्गो लगाउने विषयमा छलफल भएको बताए । ‘अहिले पनि मैले पञ्चेश्वरको बाँकी रहेको थोरै विषय टुङ्ग्यायो भने पञ्चेश्वर परियोजनाले नेपाललाई पनि भारतलाई पनि बहुआयमिक ढंगले उपलब्धीमूलक हुन्छ भन्ने कुरामा राम्रो समझदारी भएको छ, टुङ्ग्याउने भन्ने छ,’– प्रधानमन्त्री प्रचण्डले भने ।
साथै, प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीबीच कृषिसँग सम्बन्धित विषयमा पनि छलफल भएको बताईएको छ । प्रधानमन्त्री प्रचण्डले छोटो समयमा पनि भारतीय प्रधानमन्त्रीसँग विविध विषयमा छलफल भएको बताए । उनले भने, ‘कृषिसँग सम्बन्धित, किनकी अघिल्लो भ्रमणमा एग्रिकल्चरमा उत्पादन कसरी बढाउने ? भारतले गरिरहेका सकारात्मक प्रयोगबाट नेपालले के सिक्ने ? नेपालको एग्री प्रोडक्टलाई भारतको बजारमा ल्याउन कसरी अगाडि बढ्ने भन्ने बारेमा कुराकानी भएको थियो । हिजो पनि छोटो समय हुँदाहुँदै मैले त्यो कुरालाई अगाडि राखेँ । फेरि नेपालबाट त्योसँग सम्बन्धित मन्त्रीहरु र विज्ञहरुको टिम आउने र अगाडि जाने भन्नेमा पनि कृषि क्षेत्रमा सहकार्य बढाउने भन्ने पनि कुरा भएको छ ।’