Logo

मोदीलाई प्रचण्डको निमन्त्रणाः ‘पहिलो भ्रमण नेपालबाट गर्नुस्’



काठमाडौं, २८ जेठ । छिमेकी मुलुक भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन् । आज (सोमबार) नयाँ दिल्लीमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दैै प्रधानमन्त्री प्रचण्डले भारतीय प्रधानमन्त्री मोदीलाई तेस्रो कार्यकालको पहिलो भ्रमण नेपालबाट गर्न निमन्त्रणा दिएको बताएका हुन् ।

भारतीय प्रधानमन्त्री मोदीले निमन्त्रणा सहज रुपमा स्वीकार गरेको पनि उनले बताए । तर, पहिलो भ्रमण नेपालबाट भने नहुने भएको छ । प्रधानमन्त्री प्रचण्डले बताएअनुसार भारतीय प्रधानमन्त्री मोदी आगामी जुन १३ मा इटालीमा जी सेभेनको बैठक छ । भारतीय प्रधानमन्त्री पनि सो बैठकमा सहभागी हुने बताइएको छ । भारतीय प्रधानमन्त्री मोदीले इटालीबाट फर्किएपछि नेपाल आउने प्रतिवद्धता व्यक्त गरेको प्रधानमन्त्री प्रचण्डले बताए ।

‘यो शपथ ग्रहणपछिको भ्रमण पहिले छिमेकी देश नेपालबाट सुरु गर्नुपर्यो । भन्ने कुरा मैले गरेँ । उहाँले त्यो कुरालाई स्वीकार्नु भएको छ । म पहिला नेपाल जान पनि चाहेको त हो । तर, अहिले जी सेभेनको बैठक इटालीमा भएको हुनाले १३ जुनमा त्यहाँ छ । उताबाट फर्किर म आउँछु भन्ने छ ।’ प्रधानमन्त्री प्रचण्डले भने, ‘मैले के बुझेको छु भने– उहाँ छिट्टै नेपाल आउनुहुन्छ । उहाँ आफैंमा पनि एकचोटी नेपाल जानुपर्छ भन्ने मानसिकता बनेको देखेको छु । यीनै कुरा मोदीजीसँग भए ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot