काठमाडौं, २८ जेठ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रभावशाली नेता जितेन्द्र सोनलले चिनियाँ परियोजना बीआरआई नेपालको हितमा नरहेको बताएका छन् । आज (सोमबार) नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले बीआरआईले नेपाललाई ऋण थुपार्ने बताएका हुन् । उनले बीआरआई परियोजना स्वीकार गरेको खण्डमा नेपाल पनि श्रीलङ्काजस्तै टाट पल्टिनसक्ने भन्दै सचेत गराए । बीआरआईबाट सचेत र सतर्क रहनुपर्ने उनको भनाइ छ ।
‘लोकतान्त्रिक समाजवादी पार्टीले भनिसकेको छ– बीआरआई नेपालको हितमा छैन । कुनै पनि हालतमा बीआरआई नेपालको हितमा छैन । कुन देशबाट कुन ऋण लिने, अथवा अनुदान लिने, त्यो कहाँ लगाउने, त्यसको सदुपयोग कसरी गर्ने ? यो सबै कुरा नेपाल सरकार र नेपाली जनतामा निहित हुने कुरा हो ।’ उनले भने, ‘बीआरआई ऋणको रुपमा थुपार्ने पोलिसी छ । त्यो पोलिसीले दुनियाँमा के देखिएको छ भने, त्यसले कतै न कतै टाट पल्टिने स्थिति आउँछ । श्रीलङ्कामा के भयो ? हामी त्यसबाट सचेत र सतर्क रहनुपर्छ । बीआरआई हाम्रो हितमा, नेपाली जनताको हितमा छैन । यसलाई हामीले स्वीकार गर्न सक्दैनौं ।’
सार्वभौमसत्ता सम्पन्न देशले दवाब र प्रभावका ऋण लिएको खण्डमा सार्वभौमिकताको अर्थ नरहने उनको भनाइ छ । आवश्यत्ता र चाहना अनुसार कुन देशबाट ऋण र अनुदान लिने भन्ने अधिकार नेपाल सरकार र नेपाली जनतामा रहेको बताए ।