काठमाडौं, २८ जेठ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेस आफ्नै असक्षमता, अकर्मण्यता र नालायकीको भारले थिचिएको टिप्पणी गरेका छन् । पार्टी अध्यक्ष यादवले आज (सोमबार) प्रथम एकता महाधिवेशनमा पेश गरेको राजनीतिक प्रतिवेदनमा कांग्रेस प्रमुख प्रतिपक्षको भूमिकासमेत राम्ररी निभाउन नसक्ने गरी थङथिलो भएको टिप्पणी गरेका छन् । साथै, सुशासनको सवालमा कांग्रेस प्रतिबद्धता व्यवहारमा नदेखिएको उल्लेख छ ।
‘आज कांग्रेस आफ्नै असक्षमता, अकर्मण्यता र नालायकीको भारले थिचिएको छ । प्रमुख प्रतिपक्षको भूमिकासमेत राम्ररी निभाउन नसक्ने गरी थङथिलो भएको छ,’– प्रतिवेदनमा भनिएको छ ।
त्यस्तै, कांग्रेसको शासनकालमा लाउडा, घमीजा, सुडान जस्ता ठूल्ठूला भ्रष्टाचार काण्डहरू भए तर कहिल्यै विश्वसनीय छानबिन नभएको उपेन्द्रले उल्लेख गरेका छन् । उपेन्द्रले कांग्रेसमा देशभरि फैलिएको संगठन र परम्परागत जनमत रहेको उल्लेख गरेका छन् ।
वैकल्पिक लोकतान्त्रिक तथा समाजवादी दलको अभावमा राजावादी र कम्युनिस्टलाई भोट दिन नचाहने जनमतले कांग्रेसलाई भोट दिँदै आएको प्रतिवेदनमा उल्लेख छ । कांग्रेसमाथि जसपा नेपालले उल्लेखनीय हस्तक्षेप गर्नुपर्ने उपेन्द्रको निश्कर्ष छ ।
यद्यपि कांग्रेस उदारवादी लोकतान्त्रिक शक्ति भएकाले लोकतन्त्र, राष्ट्रियता र विकासको सवालमा जसपा नेपालले सहकार्य गर्न सक्ने प्रतिवेदनमा उल्लेख छ ।
कांग्रेसको नजरमा उपेन्द्र
वैचारिक दृष्टिकोणले नेपाली कांग्रेस ‘उदार लोकतान्त्रिक’ धारको नेतृत्व गर्ने पार्टी हो । औपचारिक तवरले दस्तावेजमा ‘प्रजातान्त्रिक समाजवाद’ लेखे पनि २०४६ सालपश्चात् उसको कुनै पनि व्यवहार र एजेन्डालेकांग्रेस समाजवादी दल भएको पुष्टि गर्दछ । २०४६ सालपछि कांग्रेस नेतृत्वमा सरकार बन्यो र उसले आफ्ना नीतिह󠄍रू पुँजीवादी बजार अर्थतन्त्रको पक्षमा लक्षित गर्दै गयो ।
नेपाली कांग्रेस विश्वव्यापीकरण, निजीकरण, खुला बजारमा आधारित अर्थव्यवस्था र आर्थिक उदारीकरणको पक्षमा उभियो । नेपाली कांग्रेस अर्थतन्त्रलाई बजारमा खुला छोडिदिनुपर्छ र यसमा कुनै किसिमको नियन्त्रण हुनु हुँदैन भन्ने मान्यता राख्दछ । सन् १९९० को नवउदारवादको विश्वव्यापी लह󠄍रले कांग्रेसलाई ‘प्रजातान्त्रिक समाजवाद’को अवधारणाबाट बाहि󠄍रिन सहज बनाइदियो । यो धारसँग हाम्रो पार्टीको मिल्ने विषय भनेको नागरिक स्वतन्त्रता र बहुदलीय व्यवस्था मात्र हो । अरू सबै कुरामा यो पार्टी भन्दा हामी फरक छौँ ।
यो पार्टी हिजो संवैधानिक राजतन्त्रको पक्षधर थियो । परिस्थितिवश लतारिएर गणतन्त्रसम्म आयो, तर हामी सिद्धान्तले नै गणतन्त्रवादी हौँ । गणतन्त्र जस्तै यो हिजो सङ्घीयता र समावेशीताको विरूद्धमा थियो । अनिच्छावश मान्न बाध्य भयो । तर हामी वैचारिक प्रतिबद्धताकै दृष्टिकोणले सङ्घीयता र समावेशीताको पक्षमा छौं । धर्मनिरपेक्षता हाम्रो वैचारिक प्रतिबद्धता हो । नेपाली कांग्रेसका कयौं नेताहरू अहिले पनि सार्वजनिक रूपमा नै यसका विरूद्धमा रहेका छन्।
यो पार्टीले संसदीय लोकतन्त्रलाई आफ्नो अडान बनाएको छ । संविधानसभाले संविधान बनाउँदा प्रत्यक्ष जननिर्वाचित कार्यकारी राष्ट्रपति र पूर्णसमानुपातिक संसदको व्यवस्था हुन नसक्नुको कारण कांग्रेसको यो अडान पनि थियो । यो पार्टी उत्पीडित जनताको मुक्ति, पहिचान र अधिकारको विपक्षमा छ । सङ्घीय प्रणालीको सही मोडल अर्थात् पहिचानमा आधारित स्वायत्ततासहितको सङ्घीय प्रणाली हुन नसक्नुमा कांग्रेसको ठूलो हात छ । कांग्रेस सहभागीतामूलक, समावेशी समानुपातिक लोकतन्त्रको विरूद्धमा उभिने गरेको छ । यो पार्टीको सरकारले नै नेपालमा निरपेक्ष निजीकरण र उदारीकरण सुरूवात गरेको थियो ।
राष्ट्रिय उद्योगधन्दाहरू समाप्त पार्ने, कृषि अनुदान कटौती गर्ने, कृषि प्रधान देशलाई कृषि वस्तुमै परनिर्भर आयातकर्ता बनाउने, श्रम निर्यात गर्ने बाँकी सबै वस्तुहरू विदेशबाट आयात गर्ने, देशलाई निरन्तर व्यापार घाटामा पार्ने, शिक्षा र स्वास्थ्यको अति व्यापारीकरण तथा माफियाकरण गर्ने, भूव्यवस्थाको व्यापारीकरणमार्फत् अव्यवस्थित शहरीकरण र शहरी सुकुमवासी समस्या सिर्जना गर्ने, नियमक संस्थाहरूको भूमिका कमजोर पार्ने, जताततै मूल्य कार्टेलिङ्ग र सिन्डीकेटलाई प्रश्रय दिने, ठेक्कापट्टा र राजकीय स्रोतहरूमा निश्चित वृत्तलाई मात्र पोस्ने र कमिसन तन्त्रलाई बढावा दिने जस्ता प्रवृत्तिहरू कांग्रेसले संस्थागत गरेको हो ।
कांग्रेसको शासनकालमा लाउडा, घमीजा, सुडान जस्ता ठूल्ठूला भ्रष्टाचार काण्डहरू भए तर कहिल्यै विश्वसनीय छानबिन भएन । सुशासनको सवालमा यो पार्टीको प्रतिबद्धता व्यवहारमा देखिएन । आज कांग्रेस आफ्नै असक्षमता, अकर्मण्यता र नालायकीको भारले थिचिएको छ । प्रमुख प्रतिपक्षको भूमिकासमेत राम्ररी निभाउन नसक्ने गरी थङथिलो भएको छ । तथापि यो पार्टीको देशभरि फैलिएको संगठन र परम्परागत जनमत छ ।
वैकल्पिक लोकतान्त्रिक तथा समाजवादी दलको अभावमा राजावादी र कम्युनिस्टलाई भोट दिन नचाहने जनमतले यो पार्टीलाई भोट दिँदै आएको छ । हाम्रो पार्टीले यो जनमतमाथि उल्लेखनीय हस्तक्षेप गर्नुपर्दछ । वैकल्पिक लोकतान्त्रिक शक्तिको उदय भइसकेको सन्देश दिनुपर्दछ । तथापि नेपाली कांग्रेस उदारवादी लोकतान्त्रिक शक्ति भएकाले लोकतन्त्र, राष्ट्रियता र विकासको सवालमा हाम्रो पार्टीले सहकार्य गर्न सक्दछ ।