Logo

गण्डकीमा देवकोटा र मनाङेले लिए मन्त्रीको शपथ, सरकारमा जान मानेन राप्रपा



काठमाडौं,२९ जेठ । गण्डकी प्रदेशका नवनियुक्त २ मन्त्रीले शपथ लिएका छन् । मंगलबार बिहान मन्त्री नियुक्त भएका फणिन्द्र देवकोटा र दिपक मनाङेले मन्त्रीको शपथ लिएका हुन् ।

देवकोटाले उर्जा र मनाङेले भौतिक पूर्वाधारको पथ लिएका हुन् । मनाङे यसअघि पनि सोही पदमा थिए । उनीहरुलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको शपथ दिलाएका हुन् ।

देवकोटाले माओवादीको ह्वीप नटेरी फ्लोर क्रस गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका थिए ।

सोमबार माओवादी केन्द्रको चुनाव चिह्न हँसिया हतौडाबाट विजयी नेपाल समाजवादी पार्टीका सांसद देवकोटाले ह्विप जारी भए पनि फ्लोर क्रस गर्दै मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिएका थिए। सोहीबापत उनले मन्त्री पद उपहार पाएका हुन् ।

मुख्यमन्त्री पाण्डेले राप्रपाबाट पञ्चराम तमुलाई मन्त्री बनाउन प्रस्ताव गरेका थिए । तर, राप्रपाले तत्काल सरकारमा जाने विषयमा निर्णय नभएको जनाएको छ ।

यससँगै मनाङे छैटौँपटक मन्त्री बनेका छन् । प्रदेशसभाको दोस्रो कार्यकालमा मात्रै उनी दुईपटक मन्त्री बनिसकेका छन् । सुरुमा सुरेन्द्रराज पाण्डे अल्पमतमा परेपछि मनाङे भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री बनेका थिए । पाण्डे सरकार ढलेपछि पनि मनाङे खगराज अधिकारी सरकारमा सोही मन्त्रालयमा दोहोरिए ।

यसअघि उनी पृथ्वीसुब्बा गुरुङ नेतृत्वमा २ पटक र कृष्णचन्द्र नेपालीको पालामा एकपटक गरि ३ पटक युवा तथा खेलकुदमन्त्री भईसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्