Logo

संसद्मा खेलकुद मन्त्रीको खोजी



काठमाडौं,२९ जेठ । प्रतिनिधि सभा बैठकमा युवा तथा खेलकुद मन्त्रीको खोजी भएको छ ।

मंगलबार बसेको बैठकमा युवा तथा खेलकुद मन्त्रालयको बजेटमाथिको छलफलको कार्यसूची थियो । तर, युवा तथा खेलकुदमन्त्री वीराजभक्त श्रेष्ठ उपत्यका बाहिर भएको हुँदा उनी संसद्मा आउन सकेनन् ।

सोही क्रममा कांग्रेस सांसद रामहरि खतिवडाले खेलकुदमन्त्रीको खोजी गरे । उनले मन्त्रालयगत बजेटमा उठेको प्रश्नको जवाफ मन्त्रीले दिनैपर्ने भन्दै अनिवार्य उपस्थितिबिना बैठकअघि बढ्न नसक्ने बताए ।

उनले बैठक स्थगन गरेर मन्त्री आएपछि बैठक अघि बढाइनुपर्ने माग राखे । त्यसपछि सभामुख देवराज घिमिरेले खेलकुद मन्त्रालयसम्बन्धी छलफल कार्यसूचीबाट हटाए ।

‘माननीय सदस्यहरू आजको कार्यसूचीमा रहेको युवा तथा खेलकुद मन्त्रालयसम्बन्धी विनियोजन शिर्षकहरुमाथिको छलफल कार्यसूचीबाट हटाइएको जानकारी गराउँछु’ सभामुख घिमिरेले भने । त्यसपछि बाँकी मन्त्रालयगत बजेटमाथि छलफल अगाडि बढ्यो ।



प्रतिक्रिया दिनुहोस्