Logo

अब माओवादीबाट को-को बन्दैछन् मन्त्री, सञ्चारमा माधव सापकोटा पक्का



काठमाडौं,२९ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनको तयारी थालेका छन् ।

यसै साताभित्र मन्त्रिपरिषद्लाई पुनर्गठन गर्नेगरि प्रचण्ड अघि बढेका छन् । आइतबार नै मन्त्रीपरिषद् हेरफेर गर्ने तयारी भएपछि प्रधानमन्त्री प्रचण्ड भारतीय समकक्षी नरेन्द्र मोदीको शपथ समारोहमा सहभागी हुन गएपछि केही दिनका लागि धकेलिएको थियो । अब भने छिट्टै मन्त्रिपरिषद् हेरफेर हुनेछ ।

मन्त्रिपरिषद् पुर्नगठनको बारेमा आज प्रचण्डले सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्दैछन् । स्रोतका अनुसार एमालेर-माओवादीले लिएका १-१ मन्त्रालय जनमत र नागरिक उन्मुक्तिलाई दिएर सरकार पुर्नगठन गरिनेछन् । यता माओवादी केन्द्रले भने अर्थमन्त्रीबाहेक अरु सबैलाई फिर्ता डाकेर नयाँलाई अवसर दिने तयारी गरेको छ ।

माओवादीबाट अर्थमन्त्रीमा वर्षमान पुनसँगै पर्यटनमन्त्री हितबहादुर तामाङ, सञ्चारमन्त्री रेखा शर्मा, परराष्ट्रमन्त्री नरायणकाजी श्रेष्ठ र उर्जामन्त्रीमा शक्ति बस्नेत छन् । प्रचण्डले पुनबाहक सबैलाई फिर्ता बोलाएर नयाँलाई पठाउनेछ ।

को को छन् चर्चामा ?

यसपटक प्रचण्डले मन्त्रिपरिषद् पुर्नगठनमा फ्रेस अनुहारलाई प्राथमिकता दिने भएका छन् । संसद्मा ३२ सीट जितेको माओवादीले नयाँलाई अवसर दिएमा पहिलो नम्बरमा माधव सापकोटा छन् । उच्च स्रोतका अनुसार सापकोटालाई प्रचण्डले सूचना तथा सञ्चारमन्त्रालयको जिम्मेवारी दिने तयारी गरेका छन् । सरकारको नेतृत्व गरिरहेको दलले नै सञ्चार मन्त्रालय लिने प्रचलन रहेको हुँदा सापकोटा सो मन्त्रालयमा जाने करिब निश्चित जस्तै भएको बताईन्छ ।

सापकोटा आफ्नो पार्टीको सरकार, प्रधानमन्त्री दाहाल र माओवादी केन्द्रको बचाउमा संसद्भित्र तथा बाहिर दरिलो रुपमा प्रस्तुत हुँदै आएका छन्। माओवादी केन्द्रका केन्द्रीय नेता अग्निप्रसाद सापकोटाका भतिजा माधव प्रखर वक्ता तथा प्रधानमन्त्री निकट पनि मानिन्छन्। सिन्धुपाल्चोक १ बाट लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवारको रुपमा सापकोटा प्रतिनिधिसभामा निर्वाचित हुन्।

सापकोटासँगै प्रचण्डले फ्रेस सांसद खोज्दा दोस्रो नम्बरमा लेखनाथ दाहाल छन । यसअघि ५ वर्ष बागमती प्रदेशमा प्रदेश सभा सदस्य रहेर पहिलो पटक प्रतिनिधि सभामा आएका उनीपनि मन्त्रीका प्रवल दावेदार हुन् । दाहाल पार्टीमा उपमहासचिव जनार्दन शर्मानिकट मानिन्छन् । पछिल्लो समय एमाले-माओवादीबीच नयाँ गठबन्धन बन्दा आफ्नो पक्षबाट कसैलाई पनि मन्त्री नबनाएको भन्दै शर्मा प्रचण्डसँग रुष्ट बनिरहँदा उता कर्णालीमासमेत मुख्यमन्त्री रहेका आफ्ना भाई राजकुमार शर्मालाई हटाएर एमालेलाई सत्ता सुम्पिएपछि प्रचण्ड र जनार्दनबीच झनै टसल सुरु भएको छ । यसपटक जनार्दनलाई साम्य बनाउनकै लागि भएपनि लेखनाथलाई मन्त्री बनाउनुपर्ने बाध्यतामा छन् ।

त्यस्तै माओवादीबाट महेन्द्रबहादुर शाही पनि मन्त्रीका दाबेदार हुन् । उनले शक्ति बस्नेतले सम्हालिरहेको उर्जा मन्त्रालयको जिम्मा पाउनेछन् । सोही मन्त्रालयको पूर्व मन्त्री रहेका शाही कर्णालीका पूर्व मुख्यमन्त्री हुन् । उनी विगतमा जनार्दननिकट मानिएपनि हाल प्रचण्डको कित्तामा छन् ।

शाहीपछि माओवादीमा मन्त्री हुने चर्चामा सूर्यमान दोङ र गंगाकुमारी बेलवासे पनि छन् । दोङ काभ्रेबाट निर्वाचित हुन भने बेल्वासे राष्ट्रिय सभामा सांसद छन् । बेल्वासे उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँगै एकता प्रकृयाबाट माओवादीमा आएका स्वर्गीय नेता धनीराम पौडेलकी श्रीमती हुन् । नारायणकाजी सरकारबाट बाहिरिएमा बेल्वासे राज्यमन्त्री हुने निश्चित रहेको माओवादी वृत्तमा चर्चा हुने गरेको छ ।



प्रतिक्रिया दिनुहोस्