Logo

उछिट्टिएर मन्त्री बनेका फणीन्द्रको सांसद पद नै धरापमा !



काठमाडौं, २९ जेठ । नेकपा (माओवादी केन्द्र) को चुनाव चिन्हबाट गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचित भएका फणीन्द्र देवकोटाले फ्लोर क्रश गरेपछि उनको सांसद पद धरापमा परेको छ । हिजो (सोमबार) मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सभाबाट विश्वासको मत लिने क्रममा उनले पार्टीको ह्वीप विपरीत मतदान गरेका थिए । विश्वासको मत दिएर गुण लगाएका देवकोटालाई मुख्यमन्त्री पाण्डेले आज नै मन्त्री पद उपहार दिइसकेका छन् ।

मन्त्री पद उपहार पाएपनि उनको सांसद पद भने धरापमा परेको छ । माओवादी केन्द्र गण्डकी संसदीय दलका नेता हरिबहादुर चुमानले देवकोटालाई संसदीय दलको ह्वीप उल्लङ्घन गर्ने छुट नरहेको बताए । चुमानले दलको ह्वीप उल्लङ्घन गर्ने देवकोटालाई निष्काशन गर्ने पनि बताए ।

‘उहाँले गम्भीर गल्ती गर्नुभयो । उहाँलाई कारबाहीको प्रक्रिया अगाडि बढाउँछौं । दल हाम्रो नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश सभा संसदीय दल हो । उहाँ त्यो संसदीय दलको सदस्य हुनुहुन्थ्यो । उहाँ मेरो पार्टी नेसपा हो भन्नुहुन्छ ।’ रिपोर्टर्स नेपालसँग संक्षिप्त कुराकानी गर्दै चुमानले भने, ‘तर, जुनसुकै दलको भएपनि उहाँ हाम्रो संसदीय दलको सदस्य हो । संसदीय दलको ह्वीप उल्लङ्घन गरेपछि कारबाहीको भागिदार हुनुपर्छ । उहाँलाई निष्काशन गर्छौं ।’

चुमानले भनेजस्तै राजनीतिक दल सम्बन्धि ऐन–२०७३ को दफा ४९ मा एउटै चुनाव चिन्ह लिई दुई वा दुईभन्दा बढी दल संयुक्त रुपमा निर्वाचनमा सहभागी भएकोमा त्यस्ता दलमध्ये सबैभन्दा बढी सिट प्राप्त गर्ने दलको नाममा एउटा संसदीय दल गठन गर्नुपर्ने प्रावधान छ । संयुक्त रुपमा निर्वाचनमा सहभागी भएका दलहरुको प्रत्यक्ष र समानुपातिक सांसद सोही संसदीय दलको सदस्य रहने व्यवस्था रहेको छ । यसको अर्थ फनिन्द्र माओवादी संसदीय दलका सदस्य हुन् ।

दफा २८ (१) ले दलको नेताको निर्देशन बमोजिम सचेतकले पक्षमा वा विपक्षमा मतदान गर्न निर्देशन जारी गर्न सक्ने व्यवस्था गरेको छ । यसरी जारी भएको ह्वीप मान्नु प्रत्येक सदस्यलाई बाध्यकारी हुने छ । ऐन प्रष्ट रुपमा बोलेको भएपनि फनिन्द्रले संसदीय दलको ह्वीप उल्लङ्घन गरेका छन् ।

दफा ४९ को उपदफा ४ ले संसदीय दलको सदस्यले दफा २८ को उपदफा १ विपरीतको कार्य गरेमा त्यस्तो सदस्यले दल त्याग गरेको मानिने व्यवस्था रहेको छ । सोही ऐनको दफा ३१ (२) ले कुनै सदस्यले दल त्याग गरेमा निज निर्वाचित भएको पद निजले दल त्याग गरेको मितिदेखि स्वतः रिक्त भएको मानिने व्यवस्था गरेको छ ।

यसरी, संसदीय दलले जारी गरको ह्वीप उल्लङ्घन गर्ने छुट राजनीतिक दल सम्बन्धि ऐन २०७३ ले दिएको छ । जुनसुकै दलमा आवद्ध भएपनि संयुक्त रुपमा एउटै चुनाव चिन्ह लिएर निर्वाचनमा सहभागी भइ निर्वाचित भएको सांसद सबैभन्दा बढी सिट ल्याउने दलको संसदीय दलको सदस्य हुने व्यवस्था कानुनले प्रष्ट रुपमा गरेको छ । यद्यपि फनिन्द्रले फ्लोर क्रश गरेको विषयमा माओवादी केन्द्रले कारबाही गरे उक्त विषयमा अदालतसम्म पुग्ने निश्चित छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot