Logo

चार महिनाअघि मावली घरबाट हराएका छ वर्षीय निर्भिकको अवस्था अझै अज्ञात



काठमाडौं, २९ जेठ । सुनसरी जिल्ला, धरान उपमहानगरपालिका–८ का गोविन्द तामाङले आफ्नो हराइरहेको नाती निर्भिक तामाङको खोजी गरिदिन आग्रह गरेका छन् । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले आफ्नो ६ वर्षीय नातीको खोजी कार्यमा सहयोग गरिदिन आग्रह गरका हुन् ।

निर्भिक २०८० माघ २२ गते गोविन्द र उनीकी आमा सम्झनासँग मावली घर इलाम जिल्लाको रोङ्गे गाउँपालिका दुधेखोला आएका थिए । सानीआमाको विवाहमा आएका निर्भिक गत माघ २५ गतेदेखि बेपत्ता छन् ।

गोविन्दको भनाइअनुसार मावली घरको हजुरआमा पर्ने दिलमाया तामाङले निर्भिकलाई लिएर गएकी थिईन् । निर्भिकलाई लिएर गएकी दिलमाया एक्लै फर्किएको र उनको अवस्था अहिलेसम्म अज्ञात रहेको गोविन्दले बताए ।

दिलमायालाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएर अनुसन्धान गरी छाडेको छ । गोविन्दले आफ्नो नातीलाई जसले लगेको भएपनि आफ्नै बच्चा जसरी राखिदिन आग्रह गरे । गोविन्दले आफ्नो नाती निर्भिकको खोजी कार्यमा सहयोग गरिदिन सरोकारवालाहरुसँग अपिल गरे ।

उनले भने, ‘कसैले त्यो बच्चालाई लगेको छ भने ल्याइदिनुहोला । गलत तरिकाले लगेको भएपनि तपाईहरुले त्यसलाई राम्रोसँग खानपिन गराएर राखिदिनु होला । त्यो खर्च भएको हामी पछि दिनेछौं ।’

धरान उपमहानगरपालिका–८ का वडा अध्यक्ष धनबहादुर राईले पनि बालक खोजी कार्यमा सहयोग गरिदिन आग्रह गरे ।

उक्त घटनाले विगत चार महिनादेखि वडाबासीलाई नै दुःखी बनाएको प्रतिक्रिया दिए । आफूहरुले निर्भिकको खोजी कार्यमा उनको परिवारलाई सक्दो सहयोग गरेको पनि उनले बताए ।



प्रतिक्रिया दिनुहोस्