Logo

खगराज नेतृत्वको सरकार ढल्नुमा माओवादीको हात छः दीपक मनाङ्गे



काठमाडौं, २९ जेठ । गण्डकी प्रदेश सभाका स्वतन्त्र सांसद एवं मन्त्री राजीव गुरुङ (दीपक मनाङ्गे) ले खगराज अधिकारी नेतृत्वको सरकार ढल्नुमा माओवादीको हात रहेको आरोप लगाएका छन् । आज (मंगलबार) भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रीको शपथ लिएपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले माओवादीले सभामुखलाई राजीनामा नगराएको कारण खगराज नेतृत्वको सरकार ढलेको बताएका हुन् ।

‘प्रदेशको सरकार जानुमा सबैभन्दा ठूलो हात त माओवादीको हो नि । मेरो के हात छ ? मैले सपोर्ट गरेर भोट हालेकै हो । खगराज दाईको सरकारमा जाने बेला मैले सानो अन्तरवार्ता दिएको थिएँ । कति सिट हाम्रो छ भनेर दिएको हो नि । हामीले त संख्या दिएको हो । तर, हामीले त तीन जनालेमात्रै साइन गरेका थियौैं त्यो बेला ।’ उनले भने, ‘स्वतन्त्रबाट मैले माओवादीबाट हरिबहादुर चुमानले, खगराज अधिकारीले एमालेबाट । ३१ जनाको संख्या त ठीक हो । त्यो संख्यालाई ३१ मा त लानुपर्यो नि । त्यतिबेलाको लागि त सभामुखले राजीनामा गर्नुपथ्र्यो । उहाँहरुले गर्नुभएन ।’

मन्त्री गुरुङले प्रदेश सरकारमा सहभागी हुनु आफ्नो बाध्यता रहेको बताए । आफू कुनै प्राइज पाउनका लागि सरकारमा सहभागी नभएको उनले बताए । प्रदेश मध्यावधितिर जानबाट रोक्न आफूले प्रत्येक सरकारलाई समर्थन गर्दै आएको उनले बताए ।

साथै, एमालेलाई सपोर्ट गर्दा कांग्रेस र कांग्रेसलाई सपोर्ट गर्दा एमाले रिसाउने गरेको पनि उनले सुनाए । उनले उस्तै परे आफू २० पटक पनि मन्त्री बन्नुपर्ने बाध्यता रहेको पनि बताए ।



प्रतिक्रिया दिनुहोस्