Logo

उपेन्द्रले रास्वपा र जनमतलाई किन भाउ दिएनन् ?



काठमाडौं, ३० जेठ । जनता समाजवादी पार्टी (जसपा) नेपालको एकताको प्रथम राष्ट्रिय महाधिवेशन जारी रहेको छ । महाधिवेशनमा पार्टी अध्यक्ष उपेन्द्र यादवले पेश गरको राजनीतिक प्रतिवदेनमा राजनीतिक दलहरुका बारेमा विश्लेषण गरिएको छ । उक्त प्रतिवेदनमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) राष्ट्रिय प्रजातन्त्र पार्टी र लोसपालाई विशेष प्राथमिकता दिएर विश्लेषण गरिएको छ ।

त्यस्तै, नेकपा (एकीकृत समाजवादी), नेकपा (मसाल), नेकपा (विप्लव), नेमकिपा, माले आदि दलहरू शास्त्रीय साम्यवादको धङधङीबाट ग्रस्त रहेका रएमाले कै उपग्रही विचार बोकेको उपेन्द्रको दाबी छ । राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी जस्ता नयाँ दलहरूले विकास, सुशासन, समृद्धि र सुसंस्कृत राजनीति नभएको चिन्ता व्यक्त गरेको मात्रै उल्लेख गरेका छन् ।

मधेशमा उदायको नयाँ दल जनमत पार्टीका बारेमा उपेन्द्रले केही बोलेका छैनन् । जनमत पार्टी र रास्वपाप्रति जसपा नेपालको धारणा के हो भन्ने धेरैको चासोको विषय पनि थियो । रास्वपाको नाममात्रै उल्लेख गर्नु र जनमतको नाम पनि उल्लेख नगर्नुले जसपा नेपालको धारणाप्रति मानिसहरुमा झनै जिज्ञासा बढिरहेको छ ।

जसपा नेपालका प्रवक्ता मनिष सुमन भने ती पार्टीहरुको उदय भएको २/३ वर्ष भएकाले धारणा बनाउन नसकेको बताए । उनले अन्य दलहरु भने लामो समयदेखि राजनीतिमा क्रियाशील रहेको अवस्थामा आफूहरुले प्रशंसा नगरी जस्तो छ त्यस्तै विश्लेषण गरेको उनले बताए । ‘ंहामीले धारणा लेख्न छुटाएका पार्टी भनेको जनमत र राष्ट्रिय स्वतन्त्र पार्टी हो । ती पार्टीहरु अहिले २/३ वर्षमात्र भएको छ । त्यही भएर हामीले खास्सै धारणा बनाउन सकेनौं । बाँकी पार्टीहरु धेरै लामो समयदेखि नेपाली राजनीतिमा क्रियाशील छन् । हाम्रो साथी र संगी पार्टी हुनुहुन्छ । तिनको प्रशंसा नै गर्नुपर्छ भन्ने छैन । हामीलाई लागेको कुरा लेखेका छौं,’– नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै प्रवक्ता सुमनले भने ।

जसपाले अन्य दलहरु कांग्रेसलाई आफ्नै असक्षमता, अकर्मण्यता र नालायकीको भारले थिचिएको र प्रमुख प्रतिपक्षको भूमिकासमेत राम्ररी निभाउन नसक्ने गरी थङथिलो भएको पार्टीको रुपमा चित्रण गरेको छ । त्यस्तै, एमालेलाई पहिचान, समानुपातिक समावेशी, सहभागितामूलक तथा प्रत्यक्ष लोकतन्त्र र राष्ट्रिय÷जातीय, वर्गीय, लैङ्गिक मुक्तिको विरूद्धमा रहेको पार्टीको रुपमा र माओवादीलाई चिन्तन र व्यवहारमा माक्र्सवादी– लेनिनवादी माओवादी नभई ढूलमूले, अवसरवादी चरित्र नै हाबी रहेको र पार्टीका नेता–कार्यकर्ता ठूल–ठूला भ्रष्टाचार, कमिशनतन्त्र र जग्गा दलालीमा लिप्त रहेको पार्टीको रुपमा चित्रण गरिएको छ ।

त्यसैगरी, राप्रपालाई कांग्रेस–कम्युनिस्टको असक्षमताको धमिलो पानीमा माछा मार्ने प्रयत्न गरिरहेको पार्टीको रुपमा र लोसपालाई जसपा नेपालसँग केही एजेण्डा मिल्ने पार्टीको रुपमा चित्रण गरिएको छ । यद्यपि लोसपाले देश र जनताको पक्षमा आफ्नो निर्णय आफैं लिन नसक्ने दल भन्दै आलोचना गरिएको छ । यसरी सबै दलका विरुद्धमा विष वमन गरेको जसपा नेपालले नयाँ दललाई भने आफ्नो राजनीतिक प्रतिवेदनमा विश्लेषण गर्न छुटाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot