Logo

पुराना दलका नेतालाई धृतराष्ट्रको संज्ञा दिँदै बाबुरामले नयाँ दलका नेताहरुलाई भने, ‘तपाईँहरु बाहुपासमा धेरै नकस्सिनुहोला, खतरनाक हुनसक्छ’



काठमाडौं, ३० जेठ । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पुराना दलहरुलाई धृतराष्ट्रको संज्ञा दिएका छन् । आज (बुधबार) पार्टी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै डा. भट्टराईले पुराना दलका नेताहरु धृतराष्ट्र बनिसकेको बताए । सो कार्यक्रममा जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलगायतका नयाँ दलका नेताहरुको सहभागिता रहेको थियो ।

पौरानिक कथा महाभारतमा धृतराष्ट्रले माया गरेर बाहुपास (अंगालो) हाल्दा पनि मान्छे मर्ने गरेको मिथक सुनाउँदै उनले नयाँ दलका नेताहरुलाई नयाँ दलका नेताहरुको बाहुपासमा धेरै नकस्सिन आग्रह गरे । आफू पुराना दलका नेताहरुको बाहुपासको नजिक पुग्दासमेत ‘त अझैं जिउँदै छस् ?’ भनेर सोधेको समेत सुनाए ।

‘देशलाई अबको केही वर्षभित्र देशको नेतृत्व गर्ने वैकल्पिक शक्तिले हो । पुराना शक्तिहरु, म अलिकति तपाईँहरुलाई संकेत कहाँ गर्छुभने यो धृतराष्ट्र बाहुपास भन्ने थाहा छ । बहुत माया गरेर बाहुपास गर्यो भने मर्थ्यो रे । धृतराष्ट्र बनिसक्नु भएको छ, हाम्रा पुराना सत्ताका साथीहरु ।’ उनले भने, ‘उहाँको बाहुपासमा धेरै नकस्सिँदाखेरी नै राम्रो होला । म चाहीँ कस्सिएरै त होईन, नजिक, नजिक पुग्दाखेरी पनि मलाई खगेन्द्र दाईले तँ अझै जिउँदै छस् र ? भनिरहनु भएको छ । त्यो बाहुपास बडो खतरनाक हुनसक्छ । त्यसबाट बच्नुहोला । सिकेजीलाई पनि मेरो आग्रह हो ।’

आजको कार्यक्रममा सहभागी भएका दलका नेताहरुलाई भेटघाटलाई निरन्तरता दिन उनले आग्रह गरे । आफूले अहिले नै एउटै पार्टी बनाइहालौं नभनेको उनले सुनाए । उनले आफूले आफ्ना छोराछोरी पुस्ताका मानिसहरु नेतृत्वमा आउन भन्ने चाहेको पनि बताए । ‘आज हामीले जुन सुरुवात गरेका छौं । यो सुरुवात हो, अन्त्य होईन । खुलस्त ढङ्गले भेटघाट गरौं, कुराकानी गरौं । अहिले नै एउटै पार्टी बनाइहालौं भनेको पनि होईन । म आफैं भोगेको छु । यो सँग मिल्दा हुन्छ कि भनेको छु, नेतृत्व नमिलेर हो कि भन्यो । चौथो नम्बरमा बसेर निर्वाचन आयोगमा गएको । म त जोगी टाइपको मान्छे पो हो त ।’ उनले भने, ‘विचार प्रष्ट भएन भने पनि हुँदोरहेन छ, बढी आदर्शवादी भएर पनि हुँदोरहेन छ । म त अब ७० वर्षको मान्छे, मेरो छोराछोरी पुस्ता आइसक्यो । मेरो नातिनी पुस्ता आइसक्यो । तिनीहरु अहिले आइदिउन् भन्ने मेरो चाहना छ ।’ Photo By: Mukunda Kalikote/Reporters Nepal



प्रतिक्रिया दिनुहोस्