Logo

वैकल्पिक शक्तिहरु एकताबद्ध हुन आग्रह गर्दै बाबुरामले नयाँ दलका नेताहरुलाई एउटै मञ्चमा उतारे



काठमाडौँ, ३० जेठ । विभिन्न राजनीतिक दलका नेताहरुले वैकल्पिक राजनीतिक शक्तिहरु एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । नेपाल समाजवादी पार्टीको स्थापना दिवसका अवसरमा आयोजित ‘वैकल्पिक राजनीतिको औचित्व र सम्भावना’ विषयक अन्तरक्रियामा सहभागी दलका नेताहरुले नयाँ शक्तिहरु विचार र मुद्दाका आधारमा एकताबद्ध भएर जानुपर्नेमा जोड दिएका हुन् ।

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै मुलुकको विकास र आर्थिक समृद्धिको यात्रामा सबै राजनीतिक दलहरु एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए । उनले वैकल्पिक नयाँ शक्ति कुनै लहडमा नभई समयको माग र परिस्थिति भएको बताए ।

उनले लोकतान्त्रिक स्थिरताका निम्ति प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक तर प्रत्यक्ष निर्वाचित व्यवस्थापिका हुनुपर्ने आफ्नो पार्टीको सङ्कल्प रहेको उल्लेख गरे । दुई दशकभित्र देशलाई अति कम विकसित अवस्थाबाट विकसित चरणमा रुपान्तरण गर्न तीव्र आर्थिक वृद्धि, समन्यायिक वितरण, पर्यावरणीय दिगोपन र मानवीय खुसीका चार आयामसहित समृद्धिको कार्ययोजना निर्माण गरिनुपर्ने उनको धारणा थियो ।

जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त (सिके) राउतले नयाँ शक्तिहरुबीच एकताबद्ध भइ सडक सङ्घर्षबाटै अघि बढ्नुपर्ने बताए । उनले वैचारिक रुपमा जनमत पार्टी र नेपाल समाजवादी पार्टीको मुद्दा समान रहेकाले आगामी दिनमा सहकार्य गर्न सकिने धारणा राखे ।

आम जनता पार्टीका अध्यक्ष प्रभु साहले अग्रगामी सोचका राजनीतिक शक्तिहरु एकताबद्ध भएर जनताको हितमा सक्रिय हुनुपर्ने बताए । विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बास्कोटाले नयाँ खुलेका वैकल्पिक राजनीतिक शक्तिहरुबीच ध्रुवीकरण जरुरी भएको बताईन् ।

नागरिक उन्मुक्ति पार्टीका संयोजक रेशम चौधरीले युवा पुस्ताका नेता र नयाँ विचार बोकेका राजनीतिक दलहरु एकताबद्ध भएर अगाडि बढ्नुपर्ने खाँचो औँल्याए । पहिचानवादी मोर्चाका अध्यक्ष खगेन्द्र माखिमले नयाँ शक्तिहरु परिवर्तनको चाहनालाई पूरा गर्न एक भएर लाग्नुपर्नेमा जोड दिए । लेखक खगेन्द्र सङ्ग्रौलाले जुट र फुटको राजनीतिबाट अघि बढिरहेका राजनीतिक शक्तिहरुले मुलुकको निकास दिन नसक्ने दाबी गरे ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरु, नागरिक समाजका अगुवा, अर्थशास्त्री, सञ्चारकर्मीलगायतको उपस्थिति थियो । विसं २०७३ जेठ ३० गते वैकल्पिक राजनीतिक अभियानका रुपमा नयाँ शक्ति पार्टी स्थापना गरी विभिन्न चरणमा एकता र विभाजन हुँदै अहिले नेपाल समाजवादी पार्टी बनेको हो । सोही दिनको स्मरण गर्दै प्रत्येक वर्ष स्थापना दिवस मनाइँदै आएको समाजवादी पार्टीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot