Logo

माओवादीले फणीन्द्र देवकोटालाई कारबाही गर्न सक्दैनः मानुषी यमी भट्टराई



काठमाडौं, ३१ जेठ । नेपाल समाजवादी पार्टीकी नेतृ मानुषी यमी भट्टराईले गण्डकी प्रदेश सभा सदस्य फणीन्द्र देवकोटालाई नेकपा (माओवादी केन्द्र) ले कारबाही गर्न नसक्ने बताएकी छन् । हिजो (बुधबार) नेपाली रेडियो नेटर्वकको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दैै उनले फणीन्द्र नेपसपाकै सांसद भएको दाबी गरेकी हुन् । उनले फणीन्द्रलाई निर्वाचन आयोगले दिएको प्रमाणपत्र र अभिलेखमा समेत उनी नेसपाको सांसद उल्लेख गरहेको बताईन् ।

सत्ता समीकरण फेरबदलको आधारमा इमानदारिताको कसीमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई उभ्याउन आवश्यक रहेको उनको भनाइ छ । उनले भनिन्, ‘सत्ता टिकाउनका लागि पटक–पटक फेरबदल त उहाँले गर्नुभएको हो । इमानदारिताको कसीमा त हामीले उहाँलाई हो उभ्याउन पर्ने । फणीन्द्र देवकोटाले त चु्नावभन्दा अगाडि जे आधारमा जनमत प्राप्त गर्नुभएको थियो, जुन आधारमा उठ्नुभएको थियो गठबन्धनबाट, अहिले पनि त्यसैमा अडिग हुनुहुन्छ । उहाँको त्यो निर्वाचन आयोगले दिएको परिचयपत्र, प्रमाणपत्र, अभिलेख सबैमा उहाँ नेपाल समाजवादी पार्टीको सांसद हो । माओवादी केन्द्रले कारबाही गर्न सक्दैन । निर्वाचन आयोगको अभिलेखमा छ, उहाँ नेपाल समाजवादी पार्टीको सांसद हो भनेर ।’

नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईले गोर्खा–२ निर्वाचन क्षेत्र पुष्पकमल दाहाल प्रचण्डलाई छाडेर ठूलो गल्ती गरेको उनले सुनाईन् । ‘उहाँले जब सुनाउनु भयो, त्यो आकस्मिक भयो । त्यही बेला मैले जनाएको प्रतिक्रिया चाहीँ यो गलत हुन्छ । निर्वाचन क्षेत्र त्यसरी छाड्न हुँदैन । नयाँ पुस्तालाई दिने भन्ने कुरा हामी आफैंले निर्माण गर्ने कुरा हो । फेरि उहाँले नयाँ पुस्तालाई छोड्नुभएको पनि होईन । उहाँले त कमरेड प्रचण्डलाई छोड्नुभएको हो । यसलाई जनताले राम्रो अर्थमा लिँदैनन् । मिलेरै तपाईहरु समाजवादी ध्रुवीकरणमै अगाडि बढ्नुभएको भए, गोर्खामा दुईवटा निर्वाचन क्षेत्र छ । एउटामा तपाई लड्नुस्, अर्कोमा प्रचण्ड कमरेड लड्दा हुन्छ भन्ने हाम्रो सुझाव थियो । तर, उहाँले छोड्नुभयो । त्यो गलत भयो ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot