काठमाडौं, ३१ जेठ । चितवन भरतपुर महानगरपालिका–२ का विकास सुनारले उर्मिला विश्वकर्माले लगाएको आरोपमा सत्यता नरहेको स्पष्ट पारेका छन् । उर्मिलाले विकाससहित उनकी श्रीमती रसु गजमेरले सात लाख ऋण लिएकोमा ३७ लाखको फर्जी कागज बनाएको र जग्गासमेत हड्पेको आरोप लगाएकी थिईन् ।
उर्मिलाले यथार्थताभन्दा पनि चरित्रहत्या गर्ने किसिमले आफ्नो भनाइहरु राखेको विकास सुनुवारको भनाइ छ । उनले उर्मिलाले लगाएको आरोपलाई खण्डन गरेका छन् । सो विषयलाई लिएर उर्मिला र आफूबीच चितवन जिल्ला अदालतमा चलेको मुद्धामा आफूले मुद्दा जितेको र अहिले उच्च अदालत पाटन, हेटौडा इजलासमा सो मुद्दा विचाराधीन रहेको उनले बताएका छन् ।
मुद्दा विचाराधीन अवस्थामा रहेको बेला पत्रकार सम्मेलन गरी उर्मिलाले बनावटी कुरा गरेको उनको भनाइ छ । साथै, पत्रकार सम्मेलनका क्रममा उर्मिलाले आफ्नो र पन्तीको फोटो देखाएकोमा उनले आपत्ति जनाएका छन् ।
उर्मिलाले पत्रकार सम्मेलनमार्फत उल्लेख गरेको ३ आना जग्गा आफूले उनीसँग नभइ रसु विश्वकर्मासँग किनेको बताएका छन् । साथै, उर्मिलासँग जिल्ला प्रहरी कार्यालय, वडा कार्यालय, जिल्ला प्रशासन कार्यालय, टोल सुधार तथा अदालतमा छलफल भएको विषय पत्रकार सम्मेलनका क्रममा लुकाइएको उनको भनाइ छ ।