Logo

गिरीबन्धुमा बेथिति गर्न पाइँदैन भनेर कानुन बनायौं, कांग्रेसले अब बेचेर खान पाइँदैन भनेर स्याल हुइँया मच्चायोः केपी ओली



काठमाडौं, ३१ जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु टी स्टेटको जग्गामा बेथितीकरण गर्न पाइँदैन भनेर कानु्न बनाउँदा कांग्रेसले अब बेचेर खान पाइँदैन भनेर स्याल हुइँया मच्चाएको टिप्पणी गरेका छन् । आज (बिहीबार) नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीको अधिवेशनलाई सम्बोधन गर्दै उनले गिरीबन्धु प्रकरणमा एमालेको कुनै संलग्नता नरहेको र बरु कांग्रेसले दुई पटक गरी ७० विघा बेचेको बताएका हुन् । उनले कांग्रेसले. कानुन विपरीत, बलजफ्ती गिरीबन्धुको ७० विघा जग्गा खाएको आरोप लगाए ।

‘अहिले गिरीबन्धु टी स्टेट भनेर कराएको छ । गिरीबन्धु टी स्टेटमा एक पटक ५१ विघा, एक पटक १९ विघा गरी ७० विघा कानुनविना, नियमविना बलजफ्ती विक्री गरेर खाएका थिए । तिनै तत्वहरुले खाएका थिए ।’ अध्यक्ष ओलीले भने, ‘गिरीबन्धु टी स्टेट, त्यसलाई बेथितिकरण गर्न पाइँदैन भनेर हामीले कानुन बनायौं । कानुन बनाएपछि, नियम बनाएपछि नियम कानुनभित्र बस्नुपर्यो । बेचेर खान नपाइने भयो भनेर स्याल हुइँया मच्चाएका छन् । केपी ओलीले यो गर्यो, त्यो गर्यो भनेर ।’

अध्यक्ष ओलीले आफूलाई पशुपतिमा जलहरी चढाउँदा पित्तल चढाएको भनेर अफवाह फैलाइएको बताए । त्यस्तै कम्बोडियाको टेलिकममा तीन हजार करोड लगानी छ भनेर आरोप लगाइएको उनले स्मरण गरे । उनले अहिले आरोप लगाउनेहरु कहाँ छन् ? भनेर प्रश्न गरे ।

‘एउटा करायो पशुपतिमा १०८ किलो सुन चढाएँ भनेर केपी ओलीले पित्तल चढायो । छानविन गरिपाउँ भन्यो । पशुपतिमा चढाएको जलहरी भत्काएर, तौलिएर, सुन हो कि होईन घोटेर उधुम गरे । सुनै चढाएको रहेछ, कहाँ गयो त्यो कराउने अहिले ? १०८ केजी सुनवाला कहाँ गयो त्यो ? अर्को करायो, कम्बोडियामा तीन हजार करोड टेलिकममा राखेको छ रे । कहाँ गयो त्यो टेलिकमवाला आजकाल ? फिर्ता ल्याए भयो नि त्यो पैसा । उनीहरुको सरकार थियो अस्तीसम्म । किन फिर्ता ल्याएनन् ?’ उनले प्रश्न गरे ।

एमालेसँग वैचारिक संघर्ष गर्न नसक्नेहरुले यसरी आरोप लगाउँदै आएको केपी ओलीको बुझाइ छ । उनले अहिलेसम्म कांग्रेसको कुनै योगदान नै नरहेको पनि दाबी गरे । कांग्रेसले देशका लागि सिन्को पनि नभाँचेको उनको भनाइ छ । ‘हाम्रो पार्टीसँग वैचारिक संघर्ष उनीहरु गर्न सक्दैनन् । विचारको लडाइँ गर्न सक्दैनन् । देश बनाउने कसरी ? त्यो आइडिया उनीहरुसँग छैन । अनि एमालेलाई बदनाम गरेर, उनीहरुसँग योगदान गरेँ भन्ने त छैन नि । एउटा सिन्को भाँचेको छ देशका लागि ? कांग्रेसले देशका लागि गरेको भनेको केही पनि छैन,’– उनले. भने ।



प्रतिक्रिया दिनुहोस्