Logo

माधवलक्षित ओलीको अभिव्यक्तिः ‘फलानो नै आए मान्छु भने, म गएँ, भोलिपल्टदेखि आएर ह्वाँह्वाँ रोयो भने’



काठमाडौं, ३१ जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एकल बहुमत ल्याउने गरी पार्टीको काममा लाग्न नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । आज (बिहीबार) एमाले भक्तपुर जिल्ला कमिटीका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शु्भकामना दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले एकल बहुमत नहुँदा अहिलेको जस्तै हालत हुने बताए । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालतर्फ लक्षित गर्दै अध्यक्ष ओलीले ‘पलानो आएर भन्छ भने मान्छु’ भनेकाले आफू त्यहाँ गएको बताए । अध्यक्ष ओलीले आफू गएको कुरालाई अहिले ‘हाम्रोमा रुन आयो, ग्वाँग्वाँ रोयो, धरधरी रोयो’ भन्दै हिँडेको सुनाए ।

‘नेकपा (एमाले) ले पुँजीवादको अस्तित्व संकटमा पार्दिन्छ । जनताको भविष्य उज्जवल छ । जनविरोधीहरुको भविष्य नेपालमा उज्जवल छैन । त्यसकारण उनीहरुले एमालेका विरुद्ध घेराबन्दी गर्नुनै पर्यो । एमालेका विरुद्ध मोर्चावन्दी गर्छन । हामीले मोर्चाबन्दी होईन, एक्लै लड्ने र एक्लै जित्ने तयारीमा जानुपर्छ । अस्ति एउटाले भनेको सुन्नुभएन ? एक जनाले फलानो नै आएर भने भने मान्छु भने । म गएँ ।’ ओलीले भने, ‘भोलिपल्ट के भन्यो भने देख्यौं हाम्रोमा रुन आएको थियो । ह्वाँह्वाँ रोयो आएर । ग्वाँग्वाँ रोयो, धरधरी रोयो । अनि हामीले साथ दियो । कत्रो फूर्ति होला ? यसो भन्छ । आफ्नोमात्रै शक्ति पुगेन भने यस्ता खोज्नुपर्छ । तसर्थ आफ्नो शक्तिमा भर पर्ने, एकल बहुमत ल्याउने । अरुको वैशाखी टेक्ने होईन । अरुलाई औंला समाउन दिने हो ।’

पछिल्लो पटक सत्ता समीकरण परिवर्तन भएपछि माधव नेपालको निवास राजनीतिको इपीसेन्टर बनेको थियो । उक्त समयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष ओली, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समेत माधव नेपालको निवासमा पुगेका थिए । उनलाई कांग्रेस सभापति देउवाले त प्रधानमन्त्रीको अफरसमेत गरेका थिए ।

बहुमत जुटाउन सम्भव नहुने निश्चित नभएपछि माधव नेपाल अन्ततः प्रधानमन्त्रीको प्रस्ताव अस्वीकार गरी प्रचण्ड–ओली नेतृत्वको समीकरणमै फर्किएका थिए । माधवलाई समीकरणमा ल्याउन ओली–प्रचण्डले भने निकै मेहनत गर्नुपरेको थियो । File Photo/RN



प्रतिक्रिया दिनुहोस्