Logo

सार्वजनिक ओहदामा बसेकाहरुको दोहोरो नागरिकता छानविन हुनुपर्छः माओवादी नेता पौडेल



काठमाडौं, ३२ जेठ । नेकपा (माओवादी केन्द्र) का सचिव एवं पूर्वमन्त्री देवेन्द्र पौडेलले पछिल्लो परिवर्तन पछि आर्थिक समृद्धि, स्ुशासन, सामाजिक न्यायको पक्षमा अपेक्षाकृत सुधार हुन नसकेको बताएका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले राज्यका कमीकमजोरी र समस्यामा आलोचना र खबरदारी गरेर अगाडि बढेमा मात्रै देश बन्ने बताएका हुन् । उनले सबैले राज्यको आवश्यत्ता ग्रहण गरेर अगाडि जानुपर्ने बताए ।

‘केही असन्तुष्टिहरु स्वभाविक रुपमा जनताबाट प्रकट भएका छन् । जुन गति, रफ्तार र प्रक्रियामा देशको आर्थिक समृद्धि, स्ुशासन, सामाजिक न्यायका बाटोमा पछिल्लो परिवर्तनपछि राज्यले ट्रयाक लिनुपर्थ्यो । त्यसमा समस्या, कमी कमजोरीहरु भएका छन् । फेरि पनि यसको निश्कर्ष भनेको देशमा केही हुँदैन, कसैले केही पनि गरेका छैनन् भनेर निश्कर्ष निकाल्ने कुराले राज्य बन्दैन । राज्य बनाउनका निम्ति सीमा, समस्या र कमजोरीको आलोचना गर्ने, खबरदारी गर्ने, आफ्नो जिम्मेवारी पनि बहन गर्ने र सबैले राज्यको आवश्यकत्तालाई ग्रहण गरेर त्यसमा केन्द्रीत भएर बहस चलाएर अगाडि जानुपर्छ,’– उनले भने ।

ृनेता पौडेलले राज्यका महत्वपूर्ण निकायमा बसेकाहरुको दोहोरो नागरिकता छानविन हुनु जरुरी रहेको बताए । उनले नागरिकताको सवालमा यता भए यता र नभए उता गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने र राज्यले यस्ता प्रकारका मानिसहरुलाई छानविनको दायरामा ल्याउनुपर्ने बताए ।

‘हाम्रो कानुनअनुसार राज्यको महत्वपूर्ण स्टेक होल्डरमा पुग्ने व्यक्तिहरुले नागरिकताको सवालमा दुईतिर खुट्टा हालेर बस्ने, यता भए यता, नभए उता गर्ने कुरा संस्कृतिको हिसाबले पनि र कानुनको हिसाबले पनि राम्रो होईन । त्यसप्रकारका साथीभाइहरु जो जुनसुकै पदमा किन नहुन्, कानुनी प्रक्रियाभित्र आउने कुरा जायज छ । खोजीनीति हुनुपर्छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्