Logo

प्रधानमन्त्री र राष्ट्रपतिको विदेश भ्रमण सदनलाई जानकारी नगराइएको भन्दै कांग्रेसले उठायो प्रश्न



काठमाडौं, ३२ जेठ । नेपाली कांग्रेसका नेता एवं प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रपति रामचन्द्र पौडेलको विदेश भ्रमणबारे सदनलाई पूर्वजानकारी नगराइएको भन्दै आपत्ति जनाएका छन् । आज (शुक्रबार) प्रतिनिधि सभालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री र राष्ट्रपतिको विदेश भ्रमण पत्रिका पढेर थाहा पाउनु परेको भन्दै आपत्ति जनाएका हुन् ।

उनले प्रधानमन्त्री कुनै पनि मित्रराष्ट्रको भ्रमणमा जानुभन्दा पहिला सदनलाई जाने कार्यक्रम, किन जाने, के उद्देश्यले जाने, कति दिनका लागि जाने, कहिले फर्किने भनेर जानकारी गराउने बाध्यात्मक रुपमै स्थापित परम्परा र अभ्यास रहेको स्मरण गराए ।

जानुपूर्व सदनलाई कुनै जानकारी नगराएपनि फर्किएको ५ दिनपछिसम्म सदनमा प्रधानमन्त्रीले कुनै जानकारी नदिएको बताए । ‘उहाँ देशको कार्यकारी प्रमुख, उहाँ विदेश भ्रमणमा जाँदैगर्दा यो सदन अनविज्ञ रहनुपर्ने ? जानकारी नपाउनुपर्ने, पत्रिका पढेर थाहा पाउनुपर्ने स्थिति छ । प्रतिपक्षका हैसियतले मैले प्रधानमन्त्रीजीलाई उहाँ सदनको नेता हो भनेर मैले स्मरण गराउनुपर्ने मेरो शौभाग्य हो कि सरकारको दुर्भाग्य हो ?’ उनले प्रश्न गरे ।

त्यस्तै, राष्ट्रपति रामचन्द्र पौडेलको विदेश भ्रमणबारे पनि सदनलाई जानकारी नगराइएको उनले बताए । ‘आजभन्दा केही दिन पहिला राष्ट्रप्रमुख सम्माननीय राष्ट्रपतिज्यू मुलुक बाहिर जानुभएको छ । मंगलबार २९ गते मुलुक बाहिर जानुभयो । मलाई अचम्म लागेर आएको छ, राष्ट्रपति देशबाहिर जानुहुन्छ । कार्यकारी प्रमुख प्रधानमन्त्री देशबाहिर जानुहुन्छ ।’ उनले भने, ‘तर, यो गरिमामय सदनले राष्ट्रपतिज्यू, प्रधानमन्त्रीज्यू देश बाहिर जानुभएको कुरा अखबार पढेर थाहा पाउनुपर्ने छ । यसलाई मैले दुर्भाग्य भन्दाखेरी बढी होला र ?’

सदन चलिराखेको बेलामा यसरी सदनलाई जानकारी नगराइ राष्ट्रप्रमुख विदेश जाने कुराले सदनको मर्यादा घट्दै गएको बताए । उनले प्रधानमन्त्रीको भारत भ्रमण र राष्ट्रपतिको जेनेभा भ्रमणको जानकारी गराउन माग गरे । आगामी दिनमा प्रधानमन्त्री र राष्ट्रपतिको विदेश भ्रमण अखबार पढेर जानकारी पाउने स्थितिको अन्त्य गर्न उनले आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस्