Logo

प्रधानमन्त्री प्रचण्डकै कारण यो समीकरण टिक्दैनः मेटमणि चौधरी



काठमाडौं, ३२ जेठ । नेकपा (एकीकृत समाजवादी) का नेता एवं प्रतिनिधि सभा सदस्य मेटमणि चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै कारण वर्तमान सत्ता समीकरण धेरै नटिक्ने बताएका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दैै उनले प्रचण्डकै कारण सरकार ढल्ने निश्चित रहेकाले आफूहरु सत्ता समीकरण भत्काउने, बिगार्नेतिर नलागेको बताएका हुन् । वर्तमान सत्ता समीकरणमा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री प्रचण्डको आ–आफ्नै स्वार्थ रहेको र स्वार्थकै कारण सरकार ढल्ने उनले दाबी गरे । प्रधानमन्त्री प्रचण्डले आगामी पुसमा पद हस्तान्तरण नगर्न र आफ्नो मान्छेलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन कांग्रेस छाडेर एमालेसँग सहकार्य गरेको उनले बताए ।

‘यो सरकार प्रचण्ड कमरेडकै कारणले टिक्दैन, प्रधानमन्त्रीकै कारणले टिक्दैन । आज एक ठाउँमा हुनुहुन्छ, भोलि अर्को ठाउँ पुगिहाल्नुहुन्छ । थोरै छ्यासछुस हुनेवित्तिकै… । स्वार्थले बनेको समीकरण हो ।’ उनले भने, ‘एकदमै ठूलो स्वार्थले, एउटाले हार्नु थियो, बिगार्नु थियो । अर्काले पुसमा हस्तान्तरण गर्नुपर्ने प्रधानमन्त्रीको पद जोगाउन थियो । आफ्नो मान्छेलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउनुथियो । स्वार्थैस्वार्थका कारणले निर्माण भएको समीकरण थोरै स्वार्थ मिलेपछि दरार त आइहाल्छ । अब आफैं ढलिहाल्ने, आफैं समीकरण बिग्रिने पोजिसनमा छ । अनि किन समाजवादी पार्टी, अर्का पार्टी बीचमा गएर बिगार्ने ?’

साथै, मधेश प्रदेशमा निवर्तमान मुख्यमन्त्री सरोज यादवलाई विश्वासको मत नदिनु एकीकृत समाजवादीको कमजोरी भएको उनले बताए । उनले अब वर्तमान मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वसको मत लिने क्रममा कोर्ष करेक्सन हुनसक्ने उनले संकेत गरे । ‘त्यसमा कमजोरी त भएको छ । बेकारमा कम्युनिष्ट पार्टी, कम्युनिष्ट पार्टी भनेको छ । भजाएको छ । समीकरण बनाएको छ । कहिले काहीँ नेतृत्वको ध्यान नपुग्ने कारणले कहिलेकाहीँ यस्ता निर्णयहरु आउँछ । अब अहिले मधेश प्रदेश सरकारको विषयमा भएको निर्णयलाई मैले त्यसरी नै लिएको छु । यद्यपि फेरि पनि ३० दिनभित्र विश्वासको मत त लिनैपर्छ । राजनीतिलाई हामीले मसिनोगरी हेर्दैछौं । कसरी राम्रो गर्न सकिन्छ ? कसरी मुलुकलाई स्थायित्वतर्फ अगाडि लान सकिन्छ ? कम्तिमा हाम्रो कारणले मुलुकमा अस्थिरता नमच्यिोस् । यो विषयमा हामी गम्भीर छौं,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्