काठमाडौं, ३२ जेठ । नेकपा (एकीकृत समाजवादी) को १०औं राष्ट्रिय महाधिवेशन आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा हुँदैछ । महाधिवेशनको मिति नजिकिँदै गर्दा नेतृत्वकको जिम्मेवारी कसको हातमा जाने हो भन्ने विषय पनि बहस हुन थालेको छ । एकीकृत समाजवादीको नेतृत्वमा अध्यक्ष माधवकुमार नेपाल पुनः दोहोरिन चाहन्छन् । सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले पनि अध्यक्षमा उठ्ने मनस्थिति बनाएको बताइएको छ ।
सम्मानित नेता खनालले महाधिवेशनमा सकभर सहमतिले नेतृत्व टुङ्ग्याउने बताएका छन् । सहमतिमा नेतृत्व टुङ्ग्याउन नसकेको खण्डमा स्वच्छ प्रतिस्पर्धा हुने उनको भनाइ छ । अध्यक्ष नेपाल भने सर्वसम्मतिमा आफैं दोहोरिन चाहन्छन् । महासचिव भुसाल भने दोस्रो पुस्ताका नेताहरुबाट आफूलाई सहयोग हुनेमा विश्वस्त छन् ।
एकीकृत समाजवादीका धेरै कार्यकर्ता भने अध्यक्षमा पुनः माधव नेपाल नै दोहोरिनेमा विश्वस्त छन् । अध्यक्ष नेपाललाई नै दोहोर्याएर पार्टीलाई अझ संगठित र सशक्त बनाउनुपर्ने मत एकीकृत समाजवादीमा ठूलो छ । अर्काथरी नेता कार्यकताहरु माधव नेपालबाट अब पार्टी अगाडि बढ्न नसक्ने निश्कर्षमा छन् । उनीहरु पार्टी विभाजनको औचित्य नै पुष्टि हुन नसकेको बताइएका छन् । यस आधारमा माधव नेपालको विकल्प खोज्नुपर्ने बताउँदै आएका छन् ।
त्यस्तै, जनताको बहुदलीय जनवादलाई लिएर माधव नेपाल र झलनाथ खनालबीचमै मतभेद छ । जबज नै भनिरहने हो भने एकीकृत समाजवादीलाई भन्दा जनताले एमालेलाई मन पराउने झलनाथको तर्क छ । उनले जबजलाई दक्षपर्जापतिको जिउमा जोडिएको बोकाको टाउकोका रुपमा चित्रण गर्दै आएका छन् । अध्यक्ष नेपाल भने जबज पार्टीको मार्ग निर्देशक सिद्धान्त भएकाले यसलाई छाड्न नसकिने बताउँदै आएका छन् । यसरी मार्ग निर्देशक सिद्धान्तको बीचमै मदभेद रहेको अवस्थमा अब हुन गइरहेको १०औं महाधिवेशनलाई रोचक रुपमा हेरिएको छ ।
एकीकृत समाजवादीका नेता एवं संसदीय दलका प्रमुख सचेतक मेटमणि चौधरीले अध्यक्षमा माधव नेपालको विकल्प नरहेको बताए । सम्मानित नेता खनालतर्फ लक्षित गर्दै उनले माधव नेपाललाई विस्तापित गराउँछु भन्नु हुटिट्याउँले आकाश थेगेको छु भन्नुजस्तै रहेको बताए । नेता चौधरीले अध्यक्षका लागि चु्नाव भइहालेको खण्डमा माधव नेपालको पक्षमा ९० प्रतिशत र अन्यको १० प्रतिशत मत हुने दाबी गरे ।
‘अध्यक्षमा माधव नेपाल नै हो । उहाँको विकल्प नै छैन । कसैले भन्नसक्छ, मैले पृथ्वी नै थाम्नसक्छु भन्नसक्छ । हुटिट्याउले पनि त भनेको सुन्नुभएको छ नि त । यो आकाश मैले नै थामेको छु भनेर उत्तानो पर्छ ।’ उनले भने, ‘यो आकाश मैले नथामेको भए त झर्ने थियो, खस्ने थियो भन्छ । यस पटक माधव नेपाल नै प्रधानमन्त्री बन्नुहुन्छ । कुनै दुविधा छैन । चुनाव भइहाल्यो भने पनि रेसियो ९० र १० मा हुन्छ । निर्वाचन अगाडि भन्न पाइयो । प्रतिस्पर्धा गर्छु भन्न त पाइयो । हामी जनताको बहुदलीय जनवाद मान्छौं । प्रतिस्पर्धा हुन्छ । तर, चुनाव जित्ने भनेको, सर्वसम्मतको अध्यक्ष भनेको माधव नेपाल नै हो ।’