Logo

अखिल (क्रान्तिकारी) को २३औं राष्ट्रिय सम्मेलन असोज पहिलो साता, उमेरहद लागू हुने



काठमाडौं, ३२ जेठ । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को विधान सम्मेलन र २३औं राष्ट्रिय सम्मेलन आगामी असोजको पहिलो हप्ता हुनेभएको छ । आज (शुक्रबार) बसेको अखिल (क्रान्तिकारी) को चौथो पूर्ण बैठकले असोजको पहिलो हप्ता विधानसम्मेलन र राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको हो ।

साथै, २३औं राष्ट्रिय सम्मेलनमा उमेरहद लागू गरिने भएको छ । चौथो पूर्ण बैठकले विधान सम्मेलनमा उमेरहद लागू गर्ने सम्बन्धमा मतदान गराउने र पारित भएको खण्डमा लागू गर्ने निर्णय गरको हो । विधान सम्मेलनबाट पारित भएको खण्डमा अब अखिल (क्रान्तिकारी) मा ३२ वर्षे उमेर हद लागू हुनेछ ।

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समेत अब पार्टीका सबै निकायमा निर्वाचन प्रणाली लागू गरिने बताए । ‘विधान अधिवेशनबाट पार्टीमा प्रत्यक्ष निर्वाचन गर्ने निर्णय गरिएको छ । प्रधानमन्त्री प्रचण्डले भने, ‘मनोनयन गर्ने प्रथा अब रहँदैन, विद्यार्थीमा पनि प्रत्यक्ष निर्वाचन हुन्छ ।’

अखिल (क्रान्तिकारी) रुपान्तरण अभियानमा लागेका विद्यार्थी नेताहरुले संगठन वास्तविक र नियमित विद्यार्थीहरुको हातमा फर्काउने अभियानलाई तीब्र गतिमा अगाडि बढाएका थिए । २३औं राष्ट्रिय सम्मेलनमार्फत उमेर हद र वास्तविक विद्यार्थीका मुद्दाहरुलाई संस्थागत गराएरै छाड्ने उनीहरुले बताउँदै आएका थिए ।

संगठन रुपान्तरण अभियानमा लागेका विद्यार्थी नेताहरुको उक्त मुद्दालाई प्रचण्डले समेत समर्थन गरेपछि अब उमेर हद लागू हुने निश्चित भएको अखिल (क्रान्तिकारी) का नेताहरु बताउँछन् ।

यो पनि पढ्नुहोस्ः अखिल (क्रान्तिकारी) को बैठकबाट प्रचण्डको उद्घोषः ‘पार्टीभित्र अब मनोनयन गर्ने प्रथा रहँदैन’

अखिल (क्रान्तिकारी) रुपान्तरण अभियानले तीब्रता लिँदै, उमेरहदको पक्षमा चर्को मत

जनवर्गीय संगठन प्रमुख भुसाल र फ्रयाक्सन इन्चार्ज शर्माद्वारा अखिल (क्रान्तिकारी) मा उमेरहद लगाउने प्रतिवद्धता



प्रतिक्रिया दिनुहोस्

Screenshot