Logo

संसदीय दलको कारबाहीविरुद्ध कानुनी प्रतिवाद गर्ने फणीन्द्रको चेतावनी



काठमाडौं, ३२ जेठ । गण्डकी प्रदेशका मन्त्री फणीन्द्र देवकोटाले माओवादी संसदीय दलले गरेको कारबाहीको कानुनी प्रतिवाद गर्ने बताएका छन् । आज (शुक्रबार) पत्रकार सम्मेलन आयोजना गरी उनले आफूलाई माओवादी संसदीय दलले प्रदेश सभा सदस्य नरहने गरी गरेको कारबाही गैर कानुनी रहेको बताएका हुन् ।

‘दल फरक हो । संसदीय दल फरक हो । आज जुन धारा प्रयोग गरेर संसदीय दलले कारबारी गरेको छ । त्यो कानुनी हिसाबले र राजनीतिक हिसाबले पनि गलत छ । त्यो निन्दनीय छ । मैले कानुनी रुपमा प्रतिवाद गर्ने जानकारी गराउँछु,’– उनले भने ।

साथै, आफूले निर्वाचन प्रयोजनका लागि मनोनयन दर्ता गराउँदासमेत नेपाल समाजवादी पार्टी उल्लेख गरेको बताए । आफू नेसपाबाट निर्वाचित भएको उनले दाबी गरे । ‘हामीले निर्वाचनमा गठबन्धन गर्यौं । चुनावमा गयौं । निर्वाचन प्रयोजनका लागि उम्मेदवारी दर्ता गर्दा कानुनमा व्यवस्था भएअनुसार राजनीतिक दलको नाम उल्ले गर्नुपर्ने हुन्छ । मैले उम्मेदवारी दर्ता गर्दा राजनीति दलको नाम नेपाल समाजवादी पार्टी प्रष्ट लेखेको छ । म निर्वाचनमा जाँदा हाम्रै नेपाल समाजवादी पार्टीको घोषणा पत्र रहेको थियो । मैले नेपाल समाजवादी पार्टीबाटै निर्वाचनमा भाग लिएँ,’– उनले भने ।

निर्वाचन प्रयोजनका लागि दल दर्ता भएका पार्टीहरु बीचमा एउटै चुनाव चिन्ह लिएर जाने कानुनी व्यवस्थाअनुसार नै एउटै निर्वाचन चिन्ह लिएर निर्वाचनमा गएका उनको दाबी छ । माओावादी केन्द्रले कारबाही गर्ने कुरा संवैधानिक, कानुनी र राजनीतिक हिसाबले गलत रहेको उनले बताए ।

गण्डकी नेकपा (माओवादी केन्द्र) ले फणीन्द्रलाई कारबाही गरेको पत्र प्रदेश सभा संसद् सचिवालयमा दर्ता गराएको थियो । उक्त पत्र आज सभामुखले प्रदेश सभामा पढेर सुनाएका थिए । सभामुखले पत्र पढेर सुनाएसँगै उनको प्रदेश सभा सदस्यबाट पदमुक्त भएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot