Logo

थारू संस्कृतिको संरक्षण गर्न साझा मानक भाषा बनाउनुपर्छ: महिलामन्त्री चौधरी



काठमाडौँ, १ असार । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले थारू कला, संस्कृति र भाषाको संरक्षण गर्न साझा मानक भाषा बनाउनुपर्ने बताएकी छन् । थारू कल्याणकारी सभा केन्द्रीय समितिले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सहयोगमा आज आयोजना गरेको ‘थारू भाषा, संस्कृतिसम्बन्धी अन्तक्र्रिया कार्यक्रम’ मा मन्त्री चौधरीले थारू कला, संस्कृति र भाषाको संरक्षण आवश्यक भएकाले मानक भाषा बनाउनुपर्नेमा जोड दिईन् । कुनै पनि भाषा, कला र संस्कृतिको रक्षा गर्न सबैभन्दा पहिले सोही समुदायको दायित्व बढी हुने भन्दै उनले समुदाय, समाज, राज्य र बनेका नीति नियमले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गरिन् ।
थारू जाति भाषा, संस्कृति, संस्कारले सम्पन्न तराईको आदिवासी भएको भन्दै मन्त्री चौधरीले ती कुराको संरक्षण गर्नु सबैको दायित्व रहेकोमा जोड दिइन् । ठाउँअनुसार केही–केही शब्द फरक रहने गरेको भन्दै उनले भाषाको संरक्षणका निम्ति ती कुरामा एकरूपता ल्याउन मानक भाषा बनाउन अत्यावश्यक रहेको बताए ।

“भाषा नै नरहे त्यो जातिको अन्य कला, संस्कृति पनि विस्तारै हराउँदै जान्छन् । त्यसैले हामीले भाषाको संरक्षणलाई प्राथमिकता दिनुपर्छ । थारू भाषाको लिपिका विषयमा पनि एउटा निष्कर्ष निकाल्न आवश्यक छ”, मन्त्री चौधरीले भनिन्, “भाषा संरक्षण गर्न सबैको भूमिका उत्तिकै हुनुपर्छ । ठाउँअनुसार भाषामा केही भिन्नता छन् । तसर्थ मानक भाषाका रूपमा एकरूपता ल्याउन आवश्यक छ ।”

सोझो जातिका रूपमा चिनिने थारूलाई विगतमा सोझोपनको फाइदा उठाएर जमिनदारबाट सुकुम्बासी बनाएको उदाहरण दिँदै मन्त्री चौधरीले सोझो जातिका रूपमा चिनिने थारूलाई आर्थिक गतिविधिमा सक्रिय बनाउन रोजगारीका अवसर, स्वरोजगारमूलक सीप तथा तालिमलगायतको व्यवस्था गरिनुपर्ने बताईन् । “हामी अब आर्थिक गतिविधिमा बढीभन्दा बढी सहभागी हुनुपर्छ । आर्थिक गतिविधि वृद्धि नहुँदासम्म गरिबी न्यूनीकरण सम्भव छैन”, उनले भनिन्, “हामी सक्षम हुन सीप र रोजगारीका अवसर सिर्जना हुनु आवश्यक छ । यसले आर्थिकस्तर वृद्धि गर्नुका साथै अन्य समुदायसँग समन्वय गर्न÷गराउन सहज हुन्छ ।”

जन्मदेखि मृत्युपछिसम्मको संस्कारको संरक्षण गर्न सबैले विशेष ध्यान दिन आवश्यक रहेको भन्दै मन्त्री चौधरीले विभिन्न बहानामा थारू जाति एकआपसमा फुट्न नहुने बताईन् । “हिजो रानाथारू छुट्टिन खोज्दा हामीले छलफल गरेर नछुट्टिन आग्रह गरे पनि उहाँहरू छुट्टिएर जानुभयो । अहिले खवास थारूले निवेदन दिएको कुरा आएको छ”, उनले भनिन्, “यसरी थारू जातिको जनसङ्ख्या न्यून हुँदै जान्छ । जनसङ्ख्या कम हुनु भनेको समग्रतामा शक्ति कम हुनु हो ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot