Logo

भ्रष्टाचारले डामिएका निलम्बित मेयर थापाको प्रश्नः अख्तियार प्रमुख प्रेम राईको चाहीँ छानविन गर्नुनपर्ने ? (भिडिओसहित)



काठमाडौं, २ असार। सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापाले अख्तियार प्रमुख प्रेम राईमाथि प्रश्न उठाएका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा उनले ललिता निवास जग्गा प्रकरणमा अख्तियार प्रमुख राई पोलिँदा पनि छानविन नभएको बताएका हुन् ।

‘भरतकुमार थापा बागमतीको मेयर भनेजस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त त प्रेम राई हो नि त । यो सरकारभन्दा अगाडि ललिता निवासको काण्डमा पनि गाडीसहित तस्विर मिडियाले देखाएकै हो । त्यसमध्येका बयान दिनेले त्यो गाडीको पछाडि डिकीमा मैले पैसा राख्दिएको भनेकै हो । त्यो छानविन गर्नुनपर्ने ?’ उनले प्रश्न गरे ।

निलम्बित मेयर थापाविरुद्ध अख्तियारले दुई वटा मुद्दा दायर गरेको छ । अख्तियारले भरत ताल निर्माणमा ३० करोडभन्दा धेरै घोटला भएको भन्दै निलम्बित मेयर थापासहित उपमेयर, प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर गरेको थियो । त्यस्तै, निलम्बित मेयर थापाविरुद्ध अकुत सम्पत्ति आर्जनको मुद्दासमेत छ । अख्तियारले निलम्बित मेयर थापाको ५ करोड ३३ लाख बराबरको सम्पत्तिको स्रोत नखुलेको भन्दै मुद्दा दायर गरेको थियो ।

साथै, निलम्बित मेयर थापाले आफूलाई असल जनताले भ्रष्टाचारी मेयर भनेर कहिले पनि नभनेको बताए । उनले खराब नियत भएका मान्छेहरुले मात्रै भ्रष्टाचारीको आरोप लगाएको बताए । उनले ५ करोड ३३ लाख रुपैयाँ स्रोत नखुलेको आरोपमा उक्त सम्पत्ति कुन योजनामा भ्रष्टाचार गरेर कमाएको हो भन्ने पनि पुष्टि हुनुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot