Logo

संसद्मा रामहरिको गर्जन: मन्त्रीज्यू तपाईंहरुको पद ससुरालीबाट दाइजो ल्याएको होइन, संसद छल्न पाईंदैन



काठमाडौं,२ असार । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले प्रधानमन्त्री र मन्त्रीहरुले नै संसदलाई छलेको आरोप लगाएका छन् ।

आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा विभिन्न मन्त्रालयको खर्च कटौतीसम्बन्धिको प्रस्ताव पेश गर्नेक्रममा बोल्दै संसद्को राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिसमेत रहेका खतिवडाले मन्त्रीले ससुरालीबाट दाईजोमा ल्याएको पदजस्तो गरेको टिप्पणी गरे ।

‘प्रधानमन्त्री र मन्त्रीहरू जहिले पनि सत्ता जोगाउने काम गरिरहेका छन् । नजिकका नाता र दातालाई रिझाउने काम भएको छ । संसद्का कर्मचारीहरू कालोपट्टी बाँधेर काम गरिरहेका छन्,’ खतिवडाले भने, ‘मन्त्रीज्यूहरू, तपाईंहरूको ससुरालीबाट दाइजो ल्याएको पद होइन, यही संसद्बाट निर्वाचित भएको हो, संसद्लाई छल्ने काम नगर्नुस् ।’

नेता खतिवडाले प्रदेश सरकार स्थिर बन्न नसकेको भन्दै प्रश्न उठाएका छ्न । उनले विद्यार्थीले पढ्ने बेलामा एउटा र जाँच दिनेबेलामा अर्को मुख्यमन्त्री हुने भन्दै विद्यार्थी झुकिएको बताए ।

‘अहिलेको पद्दति हेर्दा हामीलाई अफ्ठ्यारो लागेको छ । मुख्यमन्त्रीहरूको अवस्था हेर्दा एउटा विद्यार्थीले पढ्दै गर्दा एउटा मुख्यमन्त्री हुन्छ, अर्कोले जाँच दिने बेलामा अर्को भइसकेको हुन्छ,’ खतिवडाले भने, ‘त्यसको उत्तर कुन सही हो भनेर छुट्याउन गाह्रो हुन्छ, यसले समाज कहाँ जान्छ । सुशासन झनै कमजोर हुँदै गइरहेको महशुस भएको छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot