Logo

चुच्चे रेल भारतसँग जोडेर केही हुनेवाला छैन: भीम रावल (भिडिओसहित)



काठमाडौं, २ असार । नेकपा (एमाले) का नेता एवं पूर्व उपप्रधानमन्त्री भीम रावलले विदेशको आवासीय अनुमति पत्र लिएका, विदेशमै विवाह गरेका, दोहोरो नागरिकता भएका व्यक्तिहरु मन्त्रीदेखि राज्यको महत्वपूर्ण निकायमा पुग्दा भाँडभैलोको स्थिति सिर्जना भएको बताएका छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले राज्यका विभिन्न निकायमा त्यस्ता प्रकारका व्यक्तिहरुको पुगेको र उनीहरुको नागरिकता छानविनका लागि अख्तियारले निर्देशन दिइसकेको बताएका हुन् ।

‘अब अहिले केही व्यक्तिको नागरिकता छानविन गर्ने भनेर अख्तियारले निर्देशन दिएको छ । मन्त्रीहरु र ठूल्ठूला पदमा बसेका व्यक्तिहरुका कसैले विदेशको अनुमति पत्र लिएका, कोही विवाह गरेका, कोही दोहोरो नागरिकता भएका भएपछि भाँडभैलोको स्थिति हुँदैन ?’ प्रश्न गर्दै उनले भने ।

नेता रावलले सुशासनको नारा लिएर उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले आफूले भनेविपरीतको काम गरिरहेको टिप्पणी गरे । उक्त पार्टीमा रहेकाहरुप्रति लक्षित गर्दै उनले भने, ‘कुरा ठूल्ठूला गर्ने, आफ्नै क्रियाकलापहरु आफूले जे भनेको थियो, ठीक त्यसको विपरीत, भ्रष्टाचार, अनियमितता, विदेशीसँग साँठगाँठ अनेक क्रियाकलापमा संलग्न भएपछि नेपाली जनताले औंला ठड्याउनुपर्छ ।’

नेता रावलले चुच्चे रेल भारतको सीमाबाट जोडेर त्यसबाट केही प्रगति नहुने बताए । उनले नेपालकै सडक राम्रो बनाउनुपर्ने र त्यसमा हामीसँग रहेका जनशक्तिहरुलाई रोजगारी दिनुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot