Logo

सहकारी ठगी प्रकरणः कृषि विकास बहुउद्देश्यीयमा २१ वर्षदेखि अध्यक्ष थिए तेजविक्रम



काठमाडौं, २ असार । सहकारीको रकम अपचलन गरेको अभियोगमा पक्राउ परेका ललितपुरको कुमारी पार्टीस्थित कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तेजविक्रम थापासहित ४ जनालाई सार्वजनिक गरिएको छ । उक्त सहकारीको बचत रकम अपचलनमा संलग्न रहेको आरोपमा पक्राउ परेकाहरुमा सोही सहकारीका अध्यक्ष थापा, व्यवस्थापक सजना राजकर्निकार, सञ्चालक सदस्य भीमसेन महर्जन र सदस्य सञ्जय सापकोटा रहेका छन् । तेजविक्रम र सजना श्रीमान/श्रीमती हुन् ।

बचतकर्ता सदस्यहरूको बचत रकम फिर्ता नगरेको भनि सहकारी विभाग नयाँवानेश्वरमा उजुरी परेपछि उनीहरु केही समयदेखि लुकिछिपी बसिहरको अवस्थामा प्रहरीले गत जेठ ३२ गते विभिन्न ठाउँबाट पक्राउ गरेको हो । पक्राउ परेकाहरुमा अध्यक्ष थापाले सहकारीमा ढलिमली गरेको देखिन्छ । थापा सो सहकारीमा २०५६ सालदेखि ०६० सालसम्म चिफ अकाउन्टेन्ट र संस्थापक सदस्यको रुपमा कार्यरत थिए । २०६० सालमा तत्कालीन अध्यक्ष रामबहादुर थापा (हाल विशेष अदालतका न्यायाधीश) न्याय सेवामा प्रवेश गरेपछि उनी अध्यक्ष बनेका थिए । रामबहादुर र तेजविक्रम दाजुभाइ हुन् ।तेजविक्रम २०६० सालदेखि निरन्तर सो सहकारीको अध्यक्ष छन् ।

उनी २०६६ सालदेखि भक्तपुरको लोकन्थलीमा रहेको समिट अस्पतालको अध्यक्षसमेत छन् । त्यस्तै, तेजविक्रम २०७० सालदेखि अन्नपूर्ण किसान फिड एण्ड फर्टिलाइजेसन उद्योगको अध्यक्ष, २०७१ सालदेखि कृषि टेलिभिजनको संस्थापक अध्यक्ष र २०७३ सालदेखि गोरखा टेलिभिजन (साझा संसार मिडिया नेटवर्क) को संस्थापक अध्यक्ष रहेका थिए ।

बचत फिर्ता नपाएको भन्दै उनीहरुविरुद्ध ५ सय ६६ जना बचतकर्ताहरुले उजुरी दिएका थिए । उनीहरुले ९४ करोड २३ लाख ४२ हजार रूपैयाँ बिगो मागदाबी गरेका थिए । उक्त सहकारीमा २ हजार ५ सय ३१ बचतकर्ताको २ अर्ब असी करोड निक्षेप रहेको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्