Logo

श्रममन्त्री अर्यालले सार्वजनिक गरे सय दिने उपलब्धीको फेहरिस्त (पूर्णपाठसहित)



काठमाडौं, २ असार । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले सय दिनको उपलब्धी सार्वजनिक गरेका छन् । कार्यभार सम्हालेको एक सय दिन पुगेको अवसरमा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले विभिन्न उपलब्धीहरु सार्वजनिक गरेका हुन् ।

मन्त्री अर्यालले तत्काल सुधारअन्तर्गत एक घण्टामै श्रम स्वीकृति लिन सकिने व्यवस्था मिलाइएको बताए । श्रम स्वीकृतिको दैनिक कोटा हटाएर २४सैं घण्टा आवेदन दिन सकिने व्यवस्था मिलाइएको उनले सुनाए । त्यस्तै, आफ्नो कार्यकालमा वैदेशिक रोजगारीमा जाने श्रमिकको समय, श्रम, लागत र हैरानी न्यूनीकरण भएको उनको दाबी छ । मन्त्री अर्यालले श्रम स्वीकृति सम्बन्धी सेवा प्रवाह चुस्त र प्रभावकारी भएको, सार्वजनिक सेवा प्रति नागरिकको विश्वास बढेको, श्रम स्वीकृति प्रक्रियामा हुनसक्ने ठगी नियन्त्रण भएको बताए ।

त्यस्तै, आन्तरिक तथा वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुको गुनासो, उजुरी तथा सुझावहरुलाई सम्बोधन गर्न सूचना प्रविधिमा आधारित एकद्वार प्रणाली श्रमाधानको स्थापना र सञ्चालन गरिएको पनि उनले सुनाए । आन्तरिक रोजगारी प्रवद्र्धन तथा श्रम प्रशासन सुदृढीकरणअन्तर्गत मर्यादित र उत्पादशील रोजगारीका अवसरको उजागर र वृद्धि गर्न तथा रोजगार दाता र श्रमिकका बीच सम्बन्ध सेतुको रुपमा कार्य गर्न सातै प्रदेशमा श्रमाधान रोजगार मेला आयोजना सम्पन्न भएको उनले बताए ।

मन्त्री आर्यालले वैदेशिक रोजगारबाट फर्की नेपालमा उद्यम गरेका उद्यमीहरूलाई राष्ट्रिय पुरस्कार वितरण गर्न आवेदन प्राप्त भएका र पुरस्कार सिफारिस समितिको प्रारम्भिक मूल्याकंनमा परेका ३८ वटा उद्यमी/व्यवसायीको स्थलगत निरीक्षण सम्पन्न भएको बताए । त्यसैगरी, श्रम कानूनको परिपालनका सम्बन्धमा एक हजार एक सय २२ वटा प्रतिष्ठानहरुको निरीक्षण गरिएको, एक हजार एक सय ८७ प्रतिष्ठानबाट श्रम अडिट प्रतिवेदन प्राप्त भएको र एक हजार ४२ वटा प्रतिष्ठानमा बालश्रम निरीक्षण सम्पन्न भएको उनले सुनाए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot