Logo

हामीले नियोजित रुपमा कोही दोषी छ भनेर छानविन गरेका छैनौं, कसैलाई जोगाउन पनि लाग्दैनौंः सूर्य थापा



काठमाडौं, २ असार । नेकपा (एमाले) का नेता एवं सहकारी ठगी छानविनका लागि बनेको संसदीय विशेष समितिका सभापति सूर्य थापाले नियोजित रुपमा कसैलाई दोषी छ भनेर वा कसैलाई जोगाउने गरी आफूहरुले छानविन नगरेको बताएका छन् । आज (आइतबार) समितिको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले समिति तथ्यका आधारमा सत्यमा पुग्ने बताएका हुन् ।

‘समितिले छानविनका क्रममा पाप्त गर्ने तथ्यका आधारमा समिति निश्कर्षमा पुग्छ । सुझाव दिन्छ, सिफारिस गर्छ, प्रतिवेदन त्यसअनुरुप नै समितिले दिन्छ । अहिले हामीले तथ्यका आधारमा सत्यमा पुग्ने कोशिस गर्छौं । हामीले नियोजित रुपमा कोही दोषी छ भनेर पनि छानविन गरेका छैनौं । कसैलाई जोगाउनुपर्छ भनेर पनि छानविन गर्दैनौं । हामी तथ्यको विश्लेषणबाट सत्यमा पुग्ने कोशिस गर्छौं,’– उनले भने ।

साथै, आजको बैठकबाट समितिले औपचारिक रुपमा काम अगाडि बढाउने आधार तय भएको उनले बताए । अब पहिलो चरणमा संघीय सहकारी मन्त्रालय, सहकारी विभाग, सहकारी बोर्ड, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिसहितका निकायहरुसँग छलफल गर्ने पनि उनले बताए । ‘कार्यविधि हामीले बनाएका छौं, त्यसले हामीलाई काम गर्ने बाटोहरु तय गरेको छ । त्यसअनुसार हामीले पहिलो छलफल संघीय सहकारी मन्त्रालय, सहकारी विभाग, सहकारी बोर्ड, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिसहितका निकायहरुसँग छलफल गर्ने र आजको सहकारीको समस्याका बारेमा, बचत अपचलन, दुरुपयोगका बारेमा र समग्र अवस्थितिको बारेमा जानकारी दिने, त्यस आधारमा अरु तथ्य सूचना प्राप्त गर्ने काम गर्नेछौं,’– उनले भने ।

प्रदेशिक सहकारी विभाग र सम्बन्धित स्थानीय तहबाट पनि तथ्यहरु संकलन गर्ने, जानकारी लिने काम हुने उनले बताए । उनले अदालतमा विचाराधीन रहेका मुद्दाका सन्दर्भमा अदालतलाई सम्मान गर्नेगरी नै अगाडि बढिने पनि बताए । आजको बैठकमा समितिको आन्तरिक कार्यविधि सुझावससहित सर्वसम्मतीले पारित गरिएको छ । File Photo/RN



प्रतिक्रिया दिनुहोस्

Screenshot