Logo

विश्वकपमा नेपाल: अभूतपूर्व प्रदर्शन, उपलब्धि शून्य !



काठमाडौं,३ असार । शानदार बलिङका बाबजुदपनि निराशाजनक ब्याटिङका कारण लगातारको हारसँगै जितवीहिन बनेको नेपालको यस संस्करणको आईसीसी टी-२० विश्वकप क्रिकेटमा चुनौति समाप्त भएको छ । आज भएको खेलमा नेपाल बंगलादेशसँग २१ रनले पराजित भयो । यस हारसँगै नेपाल सुपर ८ को दौडबाट बाहिरियो भने कमजोर ब्याटिङको बावजुद पनि बंगलादेशले अर्को चरणको यात्रा तय गर्यो ।

टी-२० विश्वकपमा नेपालको यो दोस्रो सहभागीता हो । सन ०१४ मा भएको विश्वकपमा सहभागी भएको नेपाल एक दशक पनि दोस्रोपटक विश्वकपमा पुग्न सफल भएको थियो । अघिल्लो संस्करणको जस्तै यसपटक पनि नेपाल जितवीहिन नै रहन पुग्यो ।

४ समूहमा बाढेर खेलाईएको यस प्रतियोगीतमा नेपाल समूह डी मा परेको डेथ ग्रूप पनि भनिने यस समूहमा नेपालसहित श्रीलंका, नेदरल्याण्ड, बंगलादेश र साउथ अफ्रिका रहेका थिए । नेपाल श्रीलंका र नेदरल्याण्ड समूह चरणबाटै घर फर्किँदा साउथ अफ्रिका र बंगलादेश अर्को चरणमा पुग्न सफल भएका छन् ।

विश्वकपमा नेपालको प्रदर्शन कस्तो रह्यो ?

समूह (डी) मा रहेको नेपालले समूह चरणमा ४ मध्ये तीन खेलमात्र खेल्न पायो । श्रीलंकासँगको खेल वर्षाले अवरुद्ध भएपछि अंक बाढिएको थियो । बाँकी तन वटै खेलमा नेपाल पराजित भयो ।

बंगलादेशसँग शानदार बलिङ, ब्याटिङमा समस्या

वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाले रङ्गशालामा सम्पन्न समूह चरणको अन्तिम खेलमा नेपाल बङ्गलादेशसँग २१ रनले पराजित भएको हो ।

बङ्गलादेशले जितका लागि दिएको एक सय सात रनको विजयी लक्ष्य पच्छाएको नेपाल १९ दशमलव २ सबै विकेट गुमाउँदै ८५ रनमै समेटियो । नेपालका लागि कुशल मल्लले सर्वाधिक २७ रनको योगदान दिए । उनले ४० बलमा एक चौका र एक छक्काको सहायताले सर्वाधिक २७ रन बनाएका हुन ।

त्यसैगरी दीपेन्द्रसिंह ऐरीले ३१ बलमा दुई चौका र एक छक्काको मद्दतमा २५ रन बनाए । त्यस्तै आसिफ शेखले १४ बलमा चार चौका प्रहार गर्दै १७ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कका रन बनाउन सकेनन् । कुशल भुर्तेल चार रनमा आउट हुँदा रोहितकुमार पौडेल र सन्दीप जोरा समान एक एक रनमा आउट भए । अनिल शाह, गुलशन झा, सोमपाल कामी, सन्दीप लामिछाने र अभिनाश बोहोरा शून्यमा आउट भए ।

नेपाललाई सस्तैमा समेट्नेक्रममा बङ्गलादेशका लागि तान्जिम हसन सकिबले चार विकेट लिए भने, मुस्ताफिजुर रहमानले तीन विकेट झारे । त्यस्तै सकिब अल हसनले दुई र तस्किन अहमदले एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बङ्गलादेशले १९ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै एक सय ६ रनको योगफल बनाएको थियो । बङ्गलादेशका लागि सकिब अल हसनले २२ बलमा २ चौकासहित सर्वाधिक १७ रनको योगदान दिए । त्यस्तै रिशाद हसनले सात बलमा एक चौका र एक छक्कासहित १३ रन जोडे । महमुदूल्लाह रियादले १३ बलमा दुई चौकाको सहायताले समान १३ रन नै जोडे ।

यसैगरी तक्किन अहमद र जाकेर अलीले समान १२/१२ रन जोडे भने लिटन दासले १० रन बनाए । तोव्हीद ह्रिदोयले ९, कप्तान नाज्मुल हसन सान्टाले ४ तथा तान्जिम हसन सकिब र मुस्तब फिजुर रहमानले समान ३/३ रन बनाए । नेपालका सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने र रोहितकुमार पौडेलले समान दुई दुई विकेट लिएका थिए ।

प्रतियोगीताबाट बाहिरिएपनि नेपालका लेग स्पिनर तथा पूर्व कप्तान सन्दीप लामिछानेले भने नयाँ कीर्तिमान कायम गरेका छन् । सन्दीपले टि ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटको आफ्नो ५४ औँ खेलमा एक सय विकेट पुर्याउदै विश्वको दोस्रो खेलाडीको नयाँ कीर्तिमानी बनाउन सफल भएका छन् ।

बङ्गलादेशविरुद्धको खेलमा उनले दुई विकेट लिएसँगै उनको एक सय विकेट पूरा भएको हो । जारी विश्वकपमा सन्दीपको यो दोस्रो खेल हो । यसअघि अमेरिकाले भिसा नदिएपछि सन्दीपले अमेरिकामा नै भएको नेदरल्यान्डस र श्रीलङ्काविद्धको खेल गुमाउन पुगेका थिए । यद्यपी नेपाल र श्रीलङ्काको खेल भने वर्षाका कारण रद्द भएको थियो ।

अफगानिस्तानका रासिद खानले ५३ खेलमा एक सय विकेट लिँदै टि ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा सबैभन्दा कम खेलेर एक सय विकेट लिने कीर्तिमान बनाएका थिए ।

इतिहास रच्नबाट एक रनले चुक्यो नेपाल

समूह चरणको तेस्रो खेलमा शनिबार नेपाल साउथ अफ्रिकासँग १ रनले स्तब्ध भएको थियो । नेपालले हालसम्म कुनैपनि टेष्ट राष्ट्रलाई हराउन सकेको छैन् । शनिबार भएको खेलमा नेपाल १ रनले पराजित भएको छ । टर जितेर बलिङ राजेको नेपालले साउथ अफ्रिकालाई ११५ रनमा अलआउट गर्न सफल भएको थियो । जवाफमा नेपालले ११४ रनमात्र बनाउन सक्यो ।

साउथ अफ्रिकाविरुद्धको खेलमा नेपालका कुशल भूर्तेलले सर्वाधिक ४ विकेट लिएका थिए । ४ ओभरमा १९ रन दिएर भुर्तेलले ४ विकेट लिएका हुन् । यस प्रतियोगीतामा नेपालबाट सबैभन्दा धेरै विकेट लिने खेलाडी पनि उनीनै बनेका छन् । त्यस्तै दिपेन्द्रसिंह ऐरी ३ विकेट लिँदा ४ ओभरमा २१ रन दिए । यता ४ ओभर बलिङ गरेका सन्दीप लामिछानेले १८ रन दिँदा विकेट भेन लिन सकेनन् ।

जवाफी ब्याटिङमा उत्रिएको नेपालका लागि ओपनर कुशल भुर्तेल १३ रन बनाउँदै आउट हुँदा अर्का ओपनर आसिफ शेखले ४२ रन जोडेर जीतका लागि भरमग्दुर प्रयास गरेका थिए । यद्यपी उनको प्रयासले सार्थकता पाएन । अनिल साहले २७ रन थपेको सो खेलमा दीपेन्द्रसिंह ऐरीले ६ रन थपे कप्तान रोहित भने सो खेलमा फ्लप सावित भए । रोहित शून्य रनमा आउट हुँदा कुशल मल्ल पनि १ रनमै पेभिलियन फर्किए ।

समूह चरणको पहिलो खेलमा नेपालले टस हारेर पहिले ब्याटिङको निम्ता पाएको थियो । १९.२ ओभरमा नेपाल १०६ रन जोड्दै अलआउट भएको सो खेलमा ओपनरद्धय भूर्तेल ७ र आसिफ ४ रनमै आउट भए । अनिल ११ रनमा आउट हुँदा कप्तान रोहितले सर्वाधिक ३५ रन जोडेका थिए । कुशल मल्लले ९ रन जोड्दा
ऐरी १, सोमपाल शून्य, गुल्सन झा १४ र करण केसीले १७ रन हिर्काएका थिए ।

जवाफी ब्याटिङमा नेदरल्याण्डले १८.४ अ‍ोभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । नेपालका सोमपाल, दीपेन्द्र र अभिनाष बोहराले समान १ विकेट लिएका थिए । श्रीलंकासँगको खेल भने वर्षाले स्थगित भएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot