काठमाडौं, ३ असार । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. चन्द्रकान्त भण्डारीले अब पार्टी सभापति शेरबहादुर देउवालाई दोष लगाएर उम्किन नपाइने बताएका छन् । आज (सोमबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सभापति पछाडि रहेका उपसभापति, महामन्त्री र सहमहामन्त्रीहरुले आफ्नो दायित्व निर्वाह गर्न आवश्यक रहेको बताए । उनले अमेरिक, रसिया, चीन, भारतजस्ता देशहरुमा उमेरले ८० वर्ष पार गरेका नेताहरुले नै नेतृत्व गरिरहेको बताउँदै नेतृत्वको पछाडि हिँड्ने व्यक्तिहरुको भूमिका प्रमुख हुने बताए ।
नेपालको सन्दर्भमा भने नेतृत्वको पछाडि स्वार्थ समूह लाग्ने र नेतृत्वमा रहेकाहरुले पनि अधिकारको कुरा गर्ने र कर्तव्य पालना नगर्ने समस्या रहेको उनले बताए । उनले नयाँ पुस्ताका भनिएका नेताहरुले आफ्नो जिम्मेवारी ननिभाएको असन्तुष्टि व्यक्त गरे ।
‘शेरबहादुरजीलाई औंला ठड्याएर अब हामी उम्किन पाउँदैनौं । हामीसित नयाँ उपसभापति, महामन्त्री, सहमहामन्त्री, केन्द्रीय सदस्यहरु हुनुहुन्छ । उहाँहरुले आफ्नो जिम्मेवारी निभाउनुपर्यो । उप सभापतिको दायित्व के ? अफिसमा बसेर के काम गर्ने ? संगठन कसरी परिचालन गर्ने ? महामन्त्रीले के गर्ने ? भन्ने कुरा नेतृत्वले गर्नुपर्यो । अहिलेको २१औं शताब्दीमा अमेरिकाजस्तो देशमा उमेरले ८० क्रस गरेका व्यक्तिहरु राजनीतिमा हुनुहुन्छ ।’ उनले भने, ‘रसिया, चीनको त्यही देखिन्छ, भारतको पनि त्यस्तैछ । अहिलेको २१औं शताब्दीमा व्यक्ति होईन, व्यक्तिका पछाडि कस्तो व्यक्तिहरु छन् ? त्यसको आधारमा अहिले ड्राइभ हुँदैरहेछ । हाम्रोमा नेतृत्व पछाडिको पनि स्वार्थी, जसले नेतृत्व गर्ने हो, उ पनि अधिकारका धेरै कुरा गर्ने आफ्नो दायित्व काम पुरा गर्ने ।’
साथै,अहिले सत्तापक्षले राम्रो काम गर्न नसकेको उनको आरोप छ । त्यस्तै, सत्तापक्षले राम्रो गर्न नसक्दैगर्दा प्रमुख प्रतिपक्षी दलले विकृतिको उजागर गर्न नसकेको उनको भनाइ छ ।