Logo

सर्वसम्मत नेतृत्वका लागि विचार गर्नु राम्रो: माधव नेपाल, झलनाथको प्रश्न: सहमति टाउको जोडेर हुन्छ कि अंकमाल गरेर ?



काठमाडौं,३ असार । नेकपा एमालेबाट साढे २ वर्षअघि टुक्रिएर नयाँ पार्टी बनेको नेकपा एकीकृत समाजवादी यतिबेला महाधिवेशनको संघारमा छ ।

एमालेकै स्वरुपको रुपमा रहेको दाबी गर्दै एसले आगामी १६ गतेदेखि २० गतेसम्म काठमाडौंमा १०औं महाधिवेशनको आयोजना गर्दैछ । हालसम्म नेतृत्वका लागि हालका अध्यक्ष माधवकुमार नेपाल र सम्मानीत नेता झलनाथ खनालले आकांक्षा राखेका छन् ।

सकेसम्म सर्वसम्मत र नभएमा चुनावबाट भएपनि भिड्ने दाउमा यी दुई नेता रहँदा महासचिव घनश्याम भुसाल पनि दाउ हेरेर बसेका छन् । सुरुमा दुई नेतालाई जुधाउने र अन्तिममा सर्वसम्मतरुपमा आफू अध्यक्ष हुने भुसालको योजना रहेको निकट नेताहरु बताउँछन् । यद्यपी भुसालले यसबारेमा मुख खोलेका छैनन् । एमाले विभाजीत भएपछि एक वर्षसम्म एमालेमै रहेका उनी एमालेमा भूमिका नपाएपछि पार्टी परित्याग गरेर एसमा प्रवेश गरेका थिए । सुरुमका उपाध्यक्ष रहेका उनी पछि महासचिवमा बढुवा भएका थिए । पार्टीमा खनाल निकट मानिने भुसाल वैचारीक नेतामा पर्छन ।

यता एमालेमा रहँदा झण्डै १५ वर्ष पार्टी प्रमुख (महासचिव) बनेका नेपाल हाल पनि नयाँ पार्टीको अध्यक्ष नै छन् भने एक कार्यकाल एमालेको अध्यक्ष र केही समय कार्यवाहक गरेर आधा दशक पार्टीको नेतृतव गर्ने मौका पाएका खनाल हाल सम्मानीत नेताको जिम्मेवारीमा छन् ।

आगामी महाधिवेशनमा दुवै नेताले अध्यक्षको दाबी नछाड्दा सर्वसम्मत अध्यक्ष चयनको विषयले प्राथमिकता पाउन थालेको छ । केही दिनयता दुवै नेताले सर्वसम्मत नेतृत्व चयन गर्न आफूहरु बाधक नबन्ने अभिव्यक्ति दिन थालेका छन् । सोमबार काठमाडौंमा आयोजित पार्टीको महिला संगठनको मुखपत्र सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सर्वसम्मत नेतृत्व चयनका लागि सबैले सोच्नु राम्रो कुरा भएको बताउका छन् ।

उनले भने, ‘महाधिवेशन एकताबद्ध भएर गरियोस् भन्ने कुरा आएको छ । बहुत राम्रो र सुन्दर कुरा हो । त्यही विषयमा सबैले विचार गर्नु राम्रो हुन्छ । यो आन्दोलन अप्ठ्यारो अवस्थामा अगाडि बढाएका हौं । त्यो बेलामा खुट्टा कमाएर धर्मर गरेको भए पार लगाउनसक्ने थिएनौं । चुनौतीको बेलामा मानिसहरूको पहिचान हुन्छ ।’

अध्यक्ष नेपालको भनाईप्रति लक्षित गर्दै सम्मानीत नेता खनालले सहमितका लागि टाउको जोडेर हुन्छ कि अंगालो हालेर हुन्छ भन्दै प्रश्न गरेका छन् । उनले भने, ‘दस्तावेजमा छलफल भइरहेको छ, सुझाव आइरहेका छन् । अहिलेका मस्यौदा दस्तावेजलाई परिस्कृत गरेर पारित गर्छौं । सहमतिको साथ नेतृत्व निर्माण गर्नुपर्छ । सहमति केका आधारमा हुन्छ ? हामीले टाउका जोडेर हुन्छ कि ? अंकमाल गरौं कमरेडहरू भनेर हुन्छ कि ? केले एकता गर्छ ? हामी एउटा वैचारिक राजनीतिक कार्यदिशाको आधारमा जुटेका छौं । नीति, सिद्धान्त र लक्ष्यको आधारमा अघि बढेका छौं ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot