Logo

सङ्घीय संसद्का कर्मचारीको माग सम्बोधन गर्नेबारेको छलफल सकारात्मक, भोलि अर्थमन्त्रीलाई भेट्ने



काठमाडौं,३ असार । सङ्घीय संसद् सचिवालयका कर्मचारीको माग र आन्दोलनका विषयमा
छलफल गर्न बसेको संयुक्त बैठक सकिएको छ ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, विभिन्न पार्टीका प्रमुख सचेतक÷सचेतक र सचिवालयका उच्चाधिकारीसहितको छलफल सिंहदरबारमा बसेको थियो । सो छलफल सकारात्मक बनेको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । उनका अनुसार कर्मचारीको माग सम्बोधनका लागि भोलि अर्थमन्त्री वर्षमान पुनसँग छलफल गर्ने सहमति भएको छ ।

उनले भने, ‘कर्मचारीहरूले उठाएको न्यायोचित मागलाई पूरा गर्नुपर्छ । माग पूरा गर्नको सरकारले आवश्यक बजेटको व्यवस्थापन गर्नुपर्नेछ । यो मागबारे सकारात्मक छौं । भोलि नै अर्थमन्त्रीसँग छलफल गरेर कर्मचारीलाई आन्दोलनको तहमा नपुर्‍याउने सहमति भएको छ ।’

सङ्घीय संसद् सचिवालय कर्मचारी युनियनले कर्मचारी प्रशासन नियमावली, २०६५ लाई अद्यावधिक गरी अनुसूची १२ मा समयानुकूल परिमार्जन गर्नुपर्ने, अतिरिक्त कामवापतको प्रोत्साहन भत्ता दिइनुपर्ने, कर्मचारी कल्याण कोषलगायत ११ बुँदे माग राखी गत जेठ ३० गतेदेखि आन्दोलन सञ्चालन गर्दै आएको छ ।

आन्दोलनरत कर्मचारीले संसद् र्बैठकमै कालो पट्टी बाँधेर विरोध जनाएका थिए । छलफलमा प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना, राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरे, संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय, सचिवालयका सचिवको उपस्थिति रहेको थियो । हाल संसद् सचिवालयमा तीन सय ९० कर्मचारीका कार्यरत छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot