Logo

टीआरसी सत्ताको भर्याङजस्तो भएको छः पूर्वमन्त्री ज्वाला



काठमाडौं, ३ असार । नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्वमन्त्री प्रकाश ज्वालाले टीआरसी विधेक सत्ताको भर्याङ बनेको टिप्पणी गरेका छन् । आज (सोमबार) सहिद तथा बेपत्ता परिवारले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले टीआरसी सत्ता बाहिर रहेकाहरुले विरोध गरेर पुनः सत्तामा पुग्ने हतियार बनेको बताएका हुन् ।

‘टीआरसी यतिबेला चाहीँ सत्ताको भर्याङजस्तो भएको छ । सत्तामा जानेले चाहीँ पास गर्नुपर्छ भन्ने, सत्ताबाट बाहिर रहँदा त्यसकाविरुद्धमा उभिएर फेरि सत्तामा जाने हतियारको रुपमा प्रयोग गर्ने तरिका छ । यो बेठीक छ । यो साझा विषय हो । माओवादीको होला, अरु पार्टीको होला । मूलतः यो सहिद परिवार, घाईत, बेपत्ता पारिएका व्यक्तिहरुको परिवारको विषय हो,’– उनले भने ।

विस्तृत शान्ति सम्झौता भएको यतिलामो समय हुँदा पनि टीआरसीका सम्बन्धमा काम नभएको भन्दै उनले आपत्ति जनाए । शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने भनेर सरकारले हरेक नीति तथा कार्यक्रममा बोल्ने गरेको, हरेक ठाउँमा प्रधानमन्त्री,मन्त्री र राजनीतिक दलका नेताहरुले शान्ति प्रक्रियाका बाँकी काम निश्कर्षमा पुर्याउने भनेपनि त्यो नभइरहेको बताए । शान्ति प्रक्रियाका बाँकी कामहरुलाई जसरी पनि ब्रेक थ्रू गर्नुपर्ने उनले बताए । बेपत्ता व्यक्तिहरुका बारेमा सरकारले उनीहरुको अवस्था सार्वजनिक गर्नुपर्ने उनको भनाइ छ ।

‘बेपत्ता पारिएका, बेपत्ता भएका व्यक्तिहरुको अवस्थाका बारेमा राज्यले सार्वजनिक गर्नैपर्छ । स्थिति के हो ?, अवस्था के हो ?, कहाँ छ, के छ ? कुन अवस्था हो ? त्यसका बारेमा बताउनुपर्छ । यो राज्यको कर्तव्य हो । यसबाट राज्य भाग्न पाउँदैन,’– उनले भने ।

साथै, उनले बेपत्ता परिवार, सहिद परिवार र घाइते योद्धाहरुको आन्दोलन र मागमा आफ्नो दल र आफूको जहिले पनि समर्थन रहने प्रतिवद्धता व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot